Kathmandu Press

निवर्तमान सरकारले बढाएको यातायात भाडा फिर्ता गर्न पाँच विद्यार्थी संगठनको माग

काठमाडौं, असार ३१ : पाँच दलीय गठबन्धनका विद्यार्थी संगठनहरूले निवर्तमान ओली सरकारले बिदा हुँदै गर्दा यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग...
निवर्तमान सरकारले बढाएको यातायात भाडा फिर्ता गर्न पाँच विद्यार्थी संगठनको माग

काठमाडौं, असार ३१ : पाँच दलीय गठबन्धनका विद्यार्थी संगठनहरूले निवर्तमान ओली सरकारले बिदा हुँदै गर्दा यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

आज (बिहीबार) गठबन्धनमा आबद्ध पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्‍दै यातायातमा भएको भाडा वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका हुन्। तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रनेसमेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ।

कोरोनाले जनता थलिएको, लाखौंको रोजगारी गुमेको, जनता आर्थिक रूपमा जर्जर भएर पेट भर्नसमेत गाह्रो भइरहेको समयमा यति ठूलो मात्रामा भाडा वृद्धि गरिनु गरिबमारा निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। 

‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडावृद्धि गरेको छ। सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ । भाडावृद्धिको निर्णय तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी पनि विद्यार्थी संगठनहरूले दिएका छन्।

ती विद्यार्थी संगठनले भालि (शुक्रबार) यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेस गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (छैटौं) का अध्यक्ष विमल पोखरेल, नेविसंघका महामन्त्री बलदेव तिमल्सिना र अनेरास्ववियुकी महासचिव आरती लामाद्वारा जारी संयुक्त विज्ञप्ति जारी गरिएको हो।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्