धनाढ्य पाकिस्तानीको सिंह पाल्ने रवाफ
बिलाल मन्सुर ख्वाजाको अनुहारको चमक बेग्लै छ।
उनी एउटा सेतो सिंह मुसार्दै छन्। कराँचीस्थित उनको व्यक्तिगत चिडियाघरमा यस्ता हजारौं ‘एक्जोटिक’ जनावर....
बिलाल मन्सुर ख्वाजाको अनुहारको चमक बेग्लै छ।
उनी एउटा सेतो सिंह मुसार्दै छन्। कराँचीस्थित उनको व्यक्तिगत चिडियाघरमा यस्ता हजारौं ‘एक्जोटिक’ जनावरको संग्रह छ। पाकिस्तानको धनाढ्य वर्गमाझ वन्यजन्तुको व्यापार फस्टाइरहेको छ।
‘मसँग यस्ता केही दुर्लभ जनावर छन्,’ बाँधेको सिंहलाई देखाउँदै २९ वर्षीय उद्योगपति गर्वका साथ भन्छन्। पाकिस्तानी कानूनले यस्ता दुर्लभ जनावरको आयात सजिलो बनाएको छ। तर, एक पटक देश प्रवेश गरेपछि नियमन शून्यजस्तै छ। त्यसैले ठूलो बिरालो प्रजातिका प्राणी धन र शक्तिको प्रतिक बनेका छन्।
पछिल्ला वर्षमा यस्ता जनावर कि त विदेशबाट आयात गरिन्छन् नभए यही प्रजनन पनि गरिन्छ। वन्यजन्तुको संरक्षणका लागिपरेका व्यक्तिका लागि यो ठूलो चुनौती बनेको छ।
महँगा ‘एसयुभी’मा सवार शहरका धनाढ्यको अगाडिको सिटमा सिंह विराजमान भिडियो सामाजिक सञ्जालमा जतातै देखिन्छ। हिँडडुल गर्न र ‘ड्राइभ’मा यस्ता ठूला प्रजातिका बिरालो लैजाने स्थानीयलाई प्रहरीले गिरफ्तार गरेको समाचार पनि निकै आइरहेका छन्।
कराँचीमा मात्रै तीन सयजति सिंह भएको ख्वाजाको अनुमान छ। तिनीहरूलाई बगैंचा, ‘रूफटप’ खोर र ‘फार्म हाउस’मा राखिएको छ। करिब दुई करोड जनसंख्या रहेको कराँची घामले रापिने महानगर हो। महानगरमा अत्यधिक ‘ट्राफिक’, कमजोर पूर्वाधार र हरित स्थानको धेरै अभाव छ।
पछिल्ला वर्षमा ख्वाजाले चार हजारभन्दा धेरै जनावर संकलन गरेका छन्। तीमध्ये केही सिंह र बाघलाई उनी संग्रहको ताज बताउँछन्। उनीसँग करिब आठ सय भिन्न प्रजातिका पशुको संग्रह छ। उनी यसलाई हैसियत वा प्रतिष्ठाको प्रतीक मान्दैनन्। बरू पशुप्रतिको प्रेम ठान्दछन्।
‘हामी पाकिस्तानीको एउटा समस्या छ : हाम्रो मन कठोरभन्दा कठोर र कमलोभन्दा कमलो हुन्छ,’ उनले भने। पशुको संग्रहको हेरचार गर्न उनले ३० जनाभन्दा धेरै कामदार राखेका छन्। उनीहरूसँगै चार जना पशु चिकित्सक पनि खटाइएको छ। उनीहरू आलोपालो गरी ख्वाजाको चिडियाखाना र त्यहाँको जनावरको हेरविचार गर्दछन्।
यसका लागि धेरै लगानी चाहिने ख्वाजा स्वीकार्छन्। तर, यो व्यक्तिगत चिडियाघरका लागि कति लगानी गरे, त्यो भने खुलाउन चाहँदैनन्। बेलाबेला चोटपटक पनि लाग्छ। ‘प्रत्येक चोटसँगै यी पशुप्रति मेरो प्रेम बढ्दै जान्छ,’ ख्वाजाले मुस्कुराउँदै बताए। उनीसँग नौ एकड जमिन छ। त्यहाँ उनले जेब्रा, फ्लेमिङ्गो र घोडासहित केही पशु राखेका छन्।
अलिम पराचा आफूलाई कराँची शीर्ष तीन आयातकर्तामध्ये एक दाबी गर्छन्। करिब १४ लाख पाकिस्तानी रूपैयाँमा ४८ घण्टाभित्र पूर्णतया वैधानिक तवरले एउटा सेतो सिंह उपलब्ध गराउने उनले बताए। खतरामा रहेका प्रजातिको सुरक्षाका लागि गरिएको अन्तर्राष्ट्रिय सम्झौता अनुसार पाकिस्तान ल्याउने सबै पशुको सम्पूर्ण कागज र प्रमाणपत्र पनि उपलब्ध हुन्छ।
पराचाका अनुसार पाकिस्तानमा पशु प्रजनन गराउनेहरूको सञ्जाल पनि छ। कराँचीमा मात्रै कम्तिमा ३० जनाले यस्तो गर्ने गरेको उनले बताए। उनीहरूले केहीबेरको सूचनामै सिंह उपलब्ध गराउनसक्ने पराचाले बताए। ‘कराँचीमा सिंहपालन फस्टाएको छ,’ उनले भने।
पाकिस्तानमा स्थानीय प्रजातिको अत्यधिक सुरक्षा गरिएपनि आयातित जनावरको सवालमा समान सुरक्षा व्यवस्था लागू छैन। उपचार र ठूला प्रजातिका बिराला राख्ने स्थानबारे सरकारले निर्देशिका जारी गरेको छ। तर, प्रजजन सम्बन्धमा कानून मौन भएको जावेद महरले बताए। उनी सिन्ध प्रान्तको वन्यजन्तु विभाग प्रमुख हुन्।
उज्मा खान विश्व वन्यजन्तु कोषकी प्राविधिक सल्लाहकार हुन्। सरकारले सञ्चालन गरेको चिडियाघर अनुगमन गर्ने कुनै निकाय नभएको उनी बताउँछिन्। निजी क्षेत्रको त कुरै छाडौं, सरकारी चिडियाघर पनि अस्तव्यस्त भएको उनको कथन छ।
‘निजी रूपमा धेरैले यस्त पशुको प्रजजन गराउँछन्। यौ एकदमै शंकास्पद छ,’ खान भन्छिन्। तर ख्वाजाजस्ता व्यक्तिसँग उनीहरूले पालेको जनावरलाई ख्वाउने र पाल्ने पर्याप्त स्रोत छ। सबैको अवस्था उस्तो छैन। पशु–शल्यचिकित्सक इस्मा घिवालाले क्याल्सियम अभावले पीडित सिंह उनको क्लिनिकमा देखिनु सामान्य भएको बताइन्। केही वर्षयता उनले मात्रै सयदेखि डेढ सय सिंहको उपचार गरेकी छिन्।
‘उनीहरूको हड्डी एकदमै कमजोर हुन्छ,’ उनले भनिन्,‘एक फूटमात्रै उफ्रिए, हड्डीमा चोटपटक लाग्नसक्छ। त्यसपछि निको हुन लामो समय लाग्छ।’ यी दुर्लभ प्रजातिलाई उनीहरूको प्राकृतिक वासस्थानबाट निकाली पाकिस्तानमा हुकाएर कुनै हानिकारक काम नगरेको पराचा र ख्वाजाले जोड दिन्छन्।
‘लोप भएका हुन् वा लोप हुने जोखिममा रहेका, अर्काे पुस्ताले धेरै जनावर हेर्न सकोस् भन्ने म चाहन्छु,’ ख्वाजा भन्छन्।
तर, विश्व वन्यजन्तु कोषका खानजस्ता संरक्षणविद् त्यस्तो तर्क उचित मान्दैनन्। ‘पिँजडामा थुनिएको र जंगलको पशु भिन्न हुन्छ,’ उनी भन्छिन्,‘शिकार नगर्ने र प्राकृतिक व्यवहार नदेखाउने पिँजडा थुनिएको पशु राख्नुको के अर्थ?’