सरकारका प्रवक्ताको आक्रोश–आकाश खसेजस्तो धर्ती भासिए जसरी निर्देशन दिने काम भयो
काठमाडौं, असार १९ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाकै भरमा आइफा अवार्ड रोक्न संसदीय समितिले निर्दे....

काठमाडौं, असार १९ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले होहल्लाकै भरमा आइफा अवार्ड रोक्न संसदीय समितिले निर्देशन दिएको दाबी गरेका छन्।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड रोक्न होहल्लाको भरमा जे पायो त्यही भाषा प्रयोग गरेर दिएको निर्देशन राम्रो नहुने मन्त्री बाँस्कोटाले बताए।
बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले संसदीय समितिले गहिरोसँग अध्ययन नै नगरी सो निर्देशन दिएकोमा आक्रोश व्यक्त गरे।
‘आइफामा के भएको थियो र? संसदीय समितिले दिने निर्देशन विषयको गहिर्याइमा पुगेर दिनुपर्छ, होहल्लामा त्यत्तिकै भाषा जे पायो त्यही गरेर निर्देशन दिनु त्यति राम्रो हुँदैन,’ उनले भने।
मन्त्री बास्कोटाले आइफा अवार्ड विजनेशको प्रश्न भएको उल्लेख गर्दै उनले त्यसमा नेपाल सरकारले आयोजनाका लागि सैद्धान्तिक स्वीकृति मात्रै दिएको र पैसा दिने कुनै निर्णय नगरिएको बताए।
विश्वका विभिन्न २० वटा भन्दा बढी देशहरुमा आयोजना भइसकेको सो अवार्ड नेपालमा गरौं भन्ने प्रस्ताव आएको तर, त्यसका मोडालिटीका विषयमा सरकारले छलफल गर्न तयार हुँदाहुँदै संसदीय समितिले हतारमा आकाश खसेजस्तो, धर्ती भासिए जसरी निर्देशन दिनु आवश्यक नभएको उनको भनाइ छ।
मन्त्री बाँस्कोटाले सरकारले आइफाजस्ता कार्यक्रम आयोजना गर्दा लाभहानीलाई हेरेरै गर्ने बताउँदा पनि संसदीय समितिले त्यसलाई बेवास्ता गरेको आरोप पनि लगाए।











