आफ्नै निर्माण कम्पनी खोल्ने सरकारको तयारी
काठमाडौं, असार १९ : सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी थालेको छ। विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकारले आफ्नै निर्माण कम....
काठमाडौं, असार १९ : सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी थालेको छ। विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्न लागेको हो।
बिहीबार बसेको संघीय संसद अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकारले आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्। उनले एक हप्ताभित्र सो सम्बन्धीमा ठोस निर्णय लिने पनि समितिलाई जानकारी दिए।
मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले आफूले निर्माण गरेका सडकलगायतका पूर्वाधारको मर्मत सम्हारको जिम्मेवारी पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीहरुलाई दिने नीतिगत निर्णय लिइएको बताए।
मन्त्री महासेठले काठमाडौंमा विद्युतीय सवारी साधन सञ्चालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार रहेको पनि बताए। उनले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन पनि विद्युतीय सवारी साधन सञ्चालन गर्न उपयुक्त हुने भएकाले आफूले विद्युतीय बस सञ्चालनका लागि आउनेहरुलाई तत्काल उनीहरुले मागेकै रुटमा परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको पनि स्पष्ट पारे।
बैठकमा समितिका सदस्यहरुले काठमाडौंको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको चर्को आलोचना गरेका थिए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले १० वर्ष अघि आफू नेतृत्वको सरकारले अघि सारेको काठमाडौं–धार्के सुरुङमार्ग निर्माण परियोजना अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।
उनले सो परियोजनाको काम तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए। पूर्वप्रधानमन्त्री समेत रहेका खनालले काठमाडौंमा आउने सवारी साधानको उचित व्यवस्थापनका लागि आफूले अघि सारेको परियोजना किन अघि बढ्न नसकेको भन्ने प्रश्न सरकारलाई गरेका थिए।






