प्रधानमन्त्री ओलीलाई सांसद रंगमतीको आग्रह-आउनुस् वनस्थलीसम्म मेरो स्कुटरमा यात्रा गरौं
काठमाडौं, असार १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँड्....

काठमाडौं, असार १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँड्नु नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्।
बिहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा मास्क लगाउन पर्ने/नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी हुन्।
‘म वनस्थली बस्छु, प्रधानमन्त्रीलाई मेरो आग्रह छ यहाँबाट वनस्थलीसम्म मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुस्। त्यसपछि थाहा हुन्छ काठमाडौंमा मास्क लगाउनु पर्छ कि पर्दैन भनेर,’ उनले भनिन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्क लगाएर हिँड्नुपर्ने अवस्था नरहेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचनासमेत भइरहेको छ।
बैठकमा सांसद शाहीले प्रधानमन्त्री ओलीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ? भनेर प्रश्न पनि गरेकी थिइन्।











