कोटेश्वर–कलंकी सडक आज हस्तान्तरण हुँदै
काठमाडौं, माघ १४ : चक्रपथको विस्तारित कोटेश्वर–कलंकी सडक खण्ड चीनले आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।
पाँच वर्ष लगाएर ....
काठमाडौं, माघ १४ : चक्रपथको विस्तारित कोटेश्वर–कलंकी सडक खण्ड चीनले आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।
पाँच वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड आज हस्तान्तरण गर्न लागेको हो । पाँच अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त सडक चीन सरकारकै अनुदानमा बनेको हो ।
पहिलो चरणमा १० किलोमिटर ३९ मिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको छ । सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केशव कुमार शर्माका अनुसार चीनले सोमबार एक समारोहका बीच सडक नेपाललाई हस्तान्तरण गर्नेछ ।
चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । बाँकी सडक विस्तारको काम पनि छिट्टै सुरु हुने शर्माले जानकारी दिए ।
नेपाल सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच २०६९ पुस ३ मा निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार माघ २०७३ सम्ममा सक्ने लक्ष्य राखिए पनि भूकम्प र नाकाबन्दीका कारण दुई बर्ष पर धकेलिएको हो । कम्पनीले सम्झौता बमोजिम भदौ २०७० देखि मात्र विस्तार थालेको थियो ।
यो खण्डमा पहिलो पटक ‘अन्डरपास’ समेत बनाइएको छ । जसले गर्दा कलंकीमा हुने जामको समस्या केही हटेको छ । आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । त्यस्तै सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ ठाउँमा पुल निर्माण गरेको छ ।
आठ लेन फराकिलो उक्त सडकमा फुटपाथ, बृक्षारोपण, डिभाइडर तथा बाँकी आकासे पुल निर्माणको जिम्मा नेपाल पक्षको हो । जसको काम अझै पनि सम्पन्न भएको छैन ।






