मनाङेबारे सामाजिक सञ्जाल बहसः अनगिन्ती मनाङे पहिल्यै थिए, एउटा थपिँदा केको कोकोहोलो?
काठमाडौं, असार १९ : ‘गुण्डा नाइके दीपक मनाङे’ भनी चिनिएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ नेकपा प्रवेश गरेकोबारे राजनीतिक नेता&nda....

काठमाडौं, असार १९ : ‘गुण्डा नाइके दीपक मनाङे’ भनी चिनिएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ नेकपा प्रवेश गरेकोबारे राजनीतिक नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
रुस भ्रमणमा रहेका नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, पूर्वमन्त्री जयप्रकाश गुप्तालगायतले व्यङ्ग्य गरेका हुन्।
पार्टी प्रवेश गराउँदै पार्टीका प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले उनलाई पार्टीको विधान हस्तान्तरण गरेका थिए। उनले भने, ‘उहाँ सुध्रन चाहेर नेकपामा प्रवेश गर्नुभएको हो। उहाँलाई स्वागत छ।’
रुस भ्रमणमा रहेका नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले यसबारे ट्वीट गरे, ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता–कस्ता ल्यायौँ ? कस्ता–कस्ता ल्याउँदैछौँ ? परिणाम के भइरहेको छ ? राम्ररी विचार गरौँ है ?’
राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ? कस्ता कस्ता ल्याउंदै छौ ? परिणाम् के भैरहेको छ ? राम्ररी बिचार गरौ है !
— Yogesh bhattarai (@yogesbhattarai) July 3, 2019
नेकपाकै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकमा लेखे, ‘अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन्/थिए। एउटा थपिएको मात्र हो। जाबो एउटा मनाङे थपिदा केको कोकोहोलो हु कुन्नि ?’
पूर्वमन्त्री जयप्रकाश गुप्ताले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘ माननीयजी, पल्लो रातोघरमा तपाईँको स्वागत हुने नै छ। इलामको इभाङ, धनकुटाको खोकूछिन्ताङ र सिन्धुपाल्चोकको पिस्कर हुँदै ती रातघरेहरू राज्यको रूपान्तरण गर्न निस्केका थिए। देउमाईका किनारामा हामी पनि साक्षी थियौं तर अब हामीलाई तिनले बैरी ठानेका छन्। तपाईँ उनका आफन्त हुनुभयो। उनले गाउँगाउँबाट बस्तीबस्तीबाट उठाउन नसके पनि अब तपाईँ त्यहाँ पुग्नु भएको छ। उनले समाजको रूपान्तरण गर्न नसके पनि हजुरले अवश्य नै आफ्नो अनुभव र ज्ञानको आधारमा उनीहरूको रूपान्तरण गर्नुहुने विश्वास लिएको छु!’











