Kathmandu Press

निर्धारित समयमै देउवा प्रधानमन्त्री नियुक्त हुने गठबन्धनको विश्वास, सुरुमा सानो मन्त्रिमण्डल

सुरुमा सानो मन्त्रिमण्डल गठन गरेर सत्ताको बागडोर सम्हाल्ने गठबन्धनको तयारी छ। तर, प्रधानमन्त्रीसँगै कतिजना मन्त्रीले सपथ लिन्छन् भन्ने मंगलबार मात्र टुंगो लाग्नेछ।
निर्धारित समयमै देउवा प्रधानमन्त्री नियुक्त हुने गठबन्धनको विश्वास, सुरुमा सानो मन्त्रिमण्डल

काठमाडौं, असार २८ : सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आएको फैसलामा निर्धारित समयमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको निर्णय सार्वजनिक हुने अपेक्षा विपक्षी गठबन्धनमा सहभागी दलहरूले व्यक्त गरेका छन् ।

सुरुमा सानो मन्त्रिमण्डल गठन गरेर सत्ताको बागडोर सम्हाल्ने गठबन्धनको तयारी छ । सोमबार साँझ कोटेश्वरमा सम्पन्न पाँच दलीय गठबन्धनको बैठकबाट सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा तथा संविधानको सुस्पष्ट व्याख्या गरेको निष्कर्ष निकालेको त्यसमा सहभागी कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए । मुलुकका समस्या समाधानका लागि फैसलाले मार्गप्रशस्त गरेको र यो एक ऐतिहासिक निर्णय रहेको निष्कर्ष बैठकमा निस्किएको छ ।

‘भोलि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गरेको विज्ञप्ति आउने र उहाँको सपथ पनि भोलि नै हुनेछ भन्ने पाँचै दललाई विश्वास छ,’ खाँणले काठमाडौं प्रेससँग भने, ‘प्रारम्भिक चरणमा प्रधानमन्त्रीसँगै थोरै मन्त्रीहरूको सपथ हुनेछ र उहाँहरूले पदभार ग्रहण गर्ने गठबन्धनको चाहना छ ।’

कुन दलबाट को मन्त्रिमण्डलमा जाने भन्ने सोमबार नै तय गर्न सम्भव नभएको खाँणले बताए । ‘गठबन्धन संस्कारलाई अगाडि बढाएर मिलिजुली सरकार बनाउने अभ्यासमा अभ्यस्त बन्नुपर्ने सैद्धान्तिक सहमति मात्र आज भएको छ र साथै बसेर लोकतन्त्रको रक्षा गर्दै नागरिकमा भरोसा र विश्वास जगाउने निष्कर्ष निस्किएको छ,’ उनले भने, ‘सरकार कतिजनाको बन्ने र को को मन्त्रिमण्डलमा सहभागी हुने भन्ने टुंगो लागेको छैन । भोलि बिहान फेरि नेताहरू बसेर यो विषय टुंगो लगाउनुहुन्छ ।’

माओवादी केन्द्रका नेता देव गुरुङले पनि कतिजनाको मन्त्रिमण्डल गठन गर्ने भन्ने नेताहरूले सल्लाह गरेर टुंगो लगाउने बताए ।

यस्तै, जसपा नेता महेन्द्रप्रसाद यादवले अहिले सानो मन्त्रिमण्डल बनाएर संसदको प्रक्रिया अगाडि बढाउने र आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्दै लैजाने सैद्धान्तिक सहमति रहेको जानकारी दिए । ‘सुरुमा कतिजना मन्त्रीले सपथ लिन्छन् भन्ने मंगलबार छलफल हुनेछ, तथापि सुरुको मन्त्रिमण्डल सानो हुनेछ,’ यादवले भने, ‘पहिले त सबैले आ–आफ्नो पार्टीमा सल्लाह गर्नुप¥यो ।’

जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले भने नयाँ सरकारमा आफ्नो पार्टीबाट ६ जना क्याबिनेट र दुई राज्यमन्त्रीको दाबी प्रस्तुत हुने सम्भावना औँल्याए । ‘तर, त्यसमा हामी लचिलो बन्नेछौँ, महन्थ ठाकुर समूहले जस्तो मन्त्रिमण्डलमा पूरै हालीमुहाली खोज्दैनौँ,’ उनले भने ।

नयाँ सरकारलाई समर्थन गर्नका लागि जसपाका सांसदहरूको संख्या २० पु¥याउने कसरत सुरु भएको उनले जानकारी दिए । उनका अनुसार साउन २–३ गतेतिर संसदीय दलको नेता चयन गरेर अगाडि बढ्ने तयारी सुरु भएको छ ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

प्रकाशित मिति: २०:२४ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्