Kathmandu Press

कुकुरका लागि नेपालबाट अमेरिकामा छुर्पी निर्यात!

फिक्कल, असार १९ : इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि। विदेशमा कुकुर हेर्न मान्छे राख्ने चलन छैन। उसलाई भुलाएर र....

कुकुरका लागि नेपालबाट अमेरिकामा छुर्पी निर्यात!

फिक्कल, असार १९ : इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि। विदेशमा कुकुर हेर्न मान्छे राख्ने चलन छैन। उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ। यसबाट घर फोहर हुँदैन। महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ।

कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरु बताउँछन्। छुर्पी मासुभन्दा सस्तो हुन्छ। कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ। 

मानिसले खाने छुर्पीमा बढी फ्याट हुने व्यवसायमा संलग्न माईजोगमाई गाउँपालिका–३ का हरि पोख्रेलले बताए। उनका अनुसार कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ। नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ।

कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ। छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ। छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ। मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ।

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो। सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए। उनले आफ्नो डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरुको छुर्पीसमेत खरिद गर्ने गरेका छन्। हाल उनी आफ्नै डेरीबाट मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गर्छन्। उनले प्रतिकिलो छुर्पी ९५० र घिउ प्रतिकिलो ६५० मा बिक्री गर्छन्।

देउराली, माईजोगमाई, मंगलबारे, सन्दकपुरमा कुकुरलाई ख्वाइने छुर्पी उत्पादन हुने गरेको छ। यहाँबाट उत्तिकै मात्रामा मानिसका लागि घिउसमेत उत्पादन भइरहेको किसानहरुले बताएका छन्। पहिला मानिसले खाने छुर्पी लेकाली भेगमा परम्परागत रुपमा मात्रै उत्पादन गरिन्थ्यो। यसले राम्रो बजार पाउन थालेसँगै यहाँ अहिले व्यावसायिक रुपमै उत्पादन गर्न थालिएको देउमाई नगरपालिकाका विष्णु चौलागाईं बताउँछन्।

छुर्पीले जापानमा राम्रो बजार लिएको थियो तर, पछिल्लो समय गुणस्तरहीन छुर्पी पठाउँदा अहिले बजार नै बन्द भएको बताइन्छ। नेपाली छुर्पी खुवाएपछि कुकुरको भुत्ला झर्ने र खुइलिन हुनथालेपछि छुर्पीको माग घटेको यसमा संलग्न व्यवसायीहरु बताउँछन्। मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत नै हो।

तर, कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एशियाका धनी देशहरु हुन्। धुवाँको बास्ना कुकुरले अधिक मन पराउने भएकाले छुर्पी सुकाउन धुवाँको प्रयोग गरिन्छ। रासस

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, असार १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्