विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा जारी, को-को भए सहभागी ?
काठमाडौं, असार २८ : विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल वन पैदावारको कार्यालयमा जारी छ।सुरुमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने भनिएको बैठक पछि एमाले वरिष्ठ...
काठमाडौं, असार २८ : विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल वन पैदावारको कार्यालयमा जारी छ।
सुरुमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने भनिएको बैठक पछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बस्ने भनिएको थियो।
पछि कोटेश्वरस्थित नेपाल वन पैदावारको कार्यालयमा बैठक सवा ५ बजे सुरु गरिएको एक नेताले बताए। अस्वस्थताका कारण नेता नेपाल सिंहदरबार उपस्थित हुन नसक्ने भएपछि कोटेश्वरमा बैठक बसेको जनाइएको छ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा (उपेन्द्र-बाबुराम पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन्।
त्यस्तै माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत छन्।
त्यसैगरी नेकपा एमालेका वरिष्ठ नेता नेपाल र नेता रघुजी पन्त, जसपाबाट अध्यक्ष उपेन्द्र यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेलले बैठकमा उपस्थिति जनाएका छन्।
सर्वोच्च अदालतले आज (सोमबार) संविधान विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।
प्रतिनिधिसभा पुनःस्थापनाको गर्ने सर्वोच्चको फैसलापछि निर्माण भएको परिस्थितिमा सरकार गठनलगायत विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति तय गर्न बैठक बस्न लागेको जनाइएको छ।


-1789640101-1789640288.jpg)








