दैनिक साढे चार अर्ब सकिँदै, १८ दिनमै ७८ अर्ब सकियो
काठमाडौं, असार १९ : असार लागेसँगै सरकारी निकायहरू बजेट सक्ने हतारोमा छन्। जसका लागि पाँचतारे होटलहरूमा सेमिनारदेखि डोजरे विकास गरेर राज्यको अबौं रुपैय....
काठमाडौं, असार १९ : असार लागेसँगै सरकारी निकायहरू बजेट सक्ने हतारोमा छन्। जसका लागि पाँचतारे होटलहरूमा सेमिनारदेखि डोजरे विकास गरेर राज्यको अबौं रुपैयाँ सक्न थालेका छन्।
असार लागेपछि जथाभावी खर्च गर्ने प्रवृत्तिले यसवर्ष पनि निरन्तरता पाएको छ। स्थिर सरकार गठनसँगै असारे विकासमा बजेट बगाउने परम्परा अन्त्य हुने आश गरिएको थियो। तर, यस वर्ष पनि अबौं रुपैयाँ असारमा मात्रै खर्च भएको छ।
असारको १८ दिनको तथ्यांकमा सरकारको खर्च ७८ अर्ब रुपैयाँ खर्च भएको छ। यसका लागि लगभग दैनिक साँढे चार अर्ब रुपैयाँ खर्च गरिएको छ।
आर्थिक वर्षको अन्त्यमा हुने खर्चले आर्थिक अनुशासनलाई तोडेको छ भने अर्कातर्फ दीर्घकालिन विकासको लक्ष्यमा असर पारेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, असार १८ गतेसम्म ७८ अर्बभन्दा बढीको रकम खर्च भएको छ। चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थापनमा रकम खर्च भएको छ।
चालु आर्थिक वर्षमा हालसम्म चालुतर्फ लक्ष्यको ७८ प्रतिशत खर्च भएको छ भने विकास बजेटतर्फ ५४ प्रतिशत मात्रै खर्च भएको छ। त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ४९ प्रतिशत बजेट खर्च भएको छ।
सरकारले संसदको अर्थ समितिले दिएको निर्देशनलाई लत्याएर रकम खर्च गरेको छ। अर्थ समितिले असारमा बजेटको १० प्रतिशतभन्दा बढी खर्च नगर्न निर्देशन दिएको थियो । तर, समितिको निर्देशनअनुसार असारको १८ गतेसम्ममा मात्रै अर्बौ रुपैयाँ जथाभावी खर्च गरिएको छ।
सरकारले यसवर्ष विकास बजेटतर्फ मात्रै तीन खर्ब १३ अर्ब खर्च गर्ने लक्ष्य लिएको थियो। तर, हालसम्म जम्मा एक खर्ब ७० अर्ब रुपैयाँ खर्च भएको छ। जसमा पनि जेठ र असारमा मात्रै ठुलो रकम खर्च गरिएको छ।
त्यस्तैगरी चालु खर्चका लागि छुट्याइएको बजेट सक्नका लागि धमाधम तारे होटलमा गोष्ठी र सम्मेलनहरु सञ्चालन गरिएका छन्। जसमा करोडौ रुपैयाँ राज्यको ढुकुटीको रकम दुरुपयोग भएको छ।
चालुतर्फ सरकारले आठ खर्ब ४५ अर्ब खर्च गर्ने लक्ष्य लिएको भएपनि हालसम्म ६ खर्ब ५९ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ५५ अर्ब खर्च गर्ने लक्ष्य लिइएको भएपनि हालसम्म ७६ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च गरिएको छ।






