Kathmandu Press

प्रदेश प्रहरीका एसपीदेखि माथिका अधिकृतलाई संघले नै खटाउने तयारी

काठमाडौं, असार १९ : सरकारले नेपाल प्रहरीलाई संघीय संरचनाअनुसार प्रदेशमा समायोजन गर्दा  डीएसपीेभन्दा तलका पदहरूमा प्रदेश सरकारले निर्णय गरी चलाउन ....

प्रदेश प्रहरीका एसपीदेखि माथिका अधिकृतलाई संघले नै खटाउने तयारी

काठमाडौं, असार १९ : सरकारले नेपाल प्रहरीलाई संघीय संरचनाअनुसार प्रदेशमा समायोजन गर्दा  डीएसपीेभन्दा तलका पदहरूमा प्रदेश सरकारले निर्णय गरी चलाउन सक्ने तर सोभन्दा माथिका प्रहरी अधिकृतहरूलाई भने प्रदेश प्रहरीमै दरबन्दी कायम गरे पनि संघले खटाउने गरी तयारी गरेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा संघीय प्रहरी ऐनबारे छलफल गर्दै गृहसचिव प्रेम राईले यस्तो तयारीबारे बताएका हुन् ।

प्रहरीलाई काजमा खटाउदा केन्द्रबाट जतिबेला पनि केन्द्रले तान्ने परिपाटीका कारण स्थिरता नहुने बताए । ‘केन्द्रबाट हामी फुतफुत तान्दिन्छौँ जतिखेर पनि । त्यो कारण त्यो स्टेबल हुन सक्दैन’, उनले भने, ‘त्यसैले डिएसपीदेखि तलका पदहरु समायोजन र त्योभन्दा माथिका पदहरु प्रदेशकै दरबन्दी भए पनि संघबाट खटाउने व्यवस्था मिलाइएको छ ।’

गृहसचिव राईले प्रहरीलाई बढुवा गरेर पठाउन नसकिने बताएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहसचिव प्रेम राईले तह वृद्धि गरेर पठाउन नसक्ने जानकारी दिएका हुन् ।

समिति बैठकमा गृहसचिव राईले भने, ‘समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न सकिँदैन । बढुवा गर्दा दायित्व बढ्छ । त्यसमा अर्थमन्त्रालयको सहमति प्राप्त चएन । त्यसैले अब बढुवाको संभावना छैन ।’

समायोजनमा लग्दा प्रदेश र संघ प्रहरीबीच विभेद आउने अवस्था देखिएको पनि उनले बताए । गृहसचिव राईले भने, ‘निजामतितर्फ बढुवा होइन, तह मिलान मात्रै भएको हो । यो तहमा यतातिर हामीले ल्याएका छैनौँ । तह बनाएर जाने भए संभव होला तर हामीले त्यो खालको कन्सेप्टबाट आएको अवस्था छैन । त्यसैले बढुवाको संभावना रहेन । ”

कानून, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिंगो प्रारुप गठन गर्न संभव नभएको बताए । उनले भने, ‘प्रदेश प्रहरी संगठन निर्माणका लागि तत्काल समायोजन नै जरुरी छ । एसपी, एसएसपी र डीआईजी परिचालन प्रदेशमा हुने तर दरबन्दी केन्द्रमा नै राख्ने गरी व्यवस्था मिलाउनुपर्ने पर्छ । प्रदेश प्रहरीमा भर्ना भएको व्यक्ति संघीय प्रहरीमा नभए डिएसपीबाट नै अवकास पाउने गरी व्यवस्था मिलाउनुपर्छ ।’

समितिले कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि गृह, कानुन र नेपाल प्रहरीका अधिकारीसंग छलफल गरेको हो ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असार १९, २०७६