एमाले स्थायी कमिटी बैठकअघि नेपाल समूहको बैठक बस्ने
काठमाडौं, असार २८ : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले आज (सोमबार) अपराह्न ५ बजे स्थायी कमिटी बैठक डाकेका छन्।बालुवाटारमा बस्ने बैठकमा आन्तरिक विवाद...
काठमाडौं, असार २८ : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले आज (सोमबार) अपराह्न ५ बजे स्थायी कमिटी बैठक डाकेका छन्। त्यसअघि नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दै छ।
बालुवाटारमा बस्ने बैठकमा आन्तरिक विवाद समाधान गरेर पार्टी एकता कायम गर्न गठित कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने तयारी गरिएको एक नेताले बताए।
सहमति भइसकेको अवस्थामा पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र असन्तुष्टि कायमै रहेको बताइएको छ। नेता नेपाल आफैँले १० बुँदे सहमतिलाई लिएर गरिएको व्याख्या अस्वीकार्य रहेको प्रतिक्रिया व्यक्त गरिसकेका छन्।
१० बुँदे सहमतिकै सन्दर्भमा आजै नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको जनाइएको छ। बैठक भर्चुअल रूपमा बस्न लागेको नेपाल समूहकाएक नेताले बताए।
नेपाल समूहका एक केन्द्रीय सदस्यले १०बुँदे सहमितमा उल्लेख भएका केही बुँदा स्वीकार गर्न नसकिने खालको रहेको बताएका छन्। उनका अनुसार केही बुँदालाई गत फागुन २८ गते पछिका निर्णयको निरन्तरता भएको दाबी गरेका छन्।
पार्टीलाई २०७५ जेठ भन्दा अगाडिको संरचनाअनुसार अघि बढाउने, अन्तरविरोधहरूलाई पार्टीभित्रै विधिसङ्गत ढंगले समाधान गर्दै अगाडि बढ्ने, फागुन २३ गते एमाले ब्युँतिएपछि यता पार्टी एकतासँग मेल नखाने राजनीतिक तथाल सांगठनिक कामाकारबाहीहरू स्वतः हुनेलगायत १० बुँदामा कार्यदलबीच सहमति भएको थियो।
एमालेले आइतबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो। कार्यदलको बैठक बसिरहेकै कारण बैठक स्थगित गरिएको जनाइएको छ।











