गैरसरकारी संस्थाले सरकारको अनुमति लिएरमात्रै काम गर्नु पर्ने : अर्थमन्त्री
काठमाडौं, असार १९ : गैरसरकारी संस्थाले सरकारबाट अनुमति लिएर मात्रै काम गर्न पाउने व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन्।

काठमाडौं, असार १९ : गैरसरकारी संस्थाले सरकारबाट अनुमति लिएर मात्रै काम गर्न पाउने व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन्।
अर्थमन्त्री डा. खतिवडाले सरकारले गैरसरकारी सस्थाहरूलाई जवाफदेही बनाउन चाहेको बताए। उनले भने, ‘गैर सरकारी संस्थाहरूलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको छ।’
आज ललितपुरमा सुरू भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशीया’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताए।
उनले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको जिकिर गरे।
संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान निजी क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो।
दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्ने जनाएको छ।











