Kathmandu Press

इटालीले ५३ वर्षपछि जित्याे युरो कप

लन्डनस्थित वेम्बली स्टेडियमा भएको फाइनलमा गोलकिपर जियानलुइजी डोनारुमा नायक बनेपछि इंग्ल्यान्डलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गर्दै इटाली च्याम्पियन बन्यो।
इटालीले ५३ वर्षपछि जित्याे युरो कप

काठमाडौं, असार २८ : इटालीले ५३ वर्षपछि युरो कपको उपाधि जितेको छ।

आइतबार राति लन्डनस्थित वेम्बली स्टेडियमा भएको फाइनलमा गोलकिपर जियानलुइजी डोनारुमा नायक बनेपछि इंग्ल्यान्डलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गर्दै इटाली च्याम्पियन बन्यो।

डोनारुमाले जोर्डन सान्चो र बुकायो साकाको पोनाल्टी रोक्दै इटालीलाई ५३ वर्षपछि उपाधि दिलाए। यो उसको दोस्रो उपाधि हो। यसअघि उसले सन् १९६८ मा पहिलो उपाधि जितेको थियो।

निर्धारित समय र एक्स्ट्रा टाइमको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटालीका डोमेनिको बेरार्डी, लियोनार्दोे बोनुची र फेडेरिको बेरान्डेस्कीले गोल गर्दा आन्द्रे बेलोटी र जर्जिन्होको प्रहार इग्ल्यान्डका किपर जोर्डन प्लिकफर्डले रोकेका थिए।

यता, इग्ल्यान्डका कप्तान ह्यारी केन, ह्यारी मग्वायरले मात्र गोल गर्न सके। उसका सान्चो र साकाको प्रहार इटालीका किपर डोनारुमाले रोके भने मार्कस रास्फोर्डका प्रहार पोस्टमा लागेको थियो।

अन्त्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा सुरुआती अग्रता इग्ल्यान्डले लियो। खेलको दुई मिनेटमै केभिन ट्रिपियरको क्रसमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

दोस्रो हाफमा भने इटालीले इग्ल्यान्डमाथि दबाब बनाएको थियो। खेलको ६७औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, असार २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्