१० बुँदे सहमतिमा ओली पक्षको व्याख्या अस्वीकार्य: नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले गरेको १० बुँदे सहमति र त्यसमा गरिएको व्याख्या अस्वीकार्य भएको बताएका छन्।
काठमाडौं, असार २८ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले गरेको १० बुँदे सहमति र त्यसमा गरिएको व्याख्या अस्वीकार्य भएको बताएका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार राति फेसबुकमा लेख्दै एमालेका २३ जना सांसदले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने सहमति भएको जनाएका थिए। त्यसलाई लिएर वरिष्ठ नेता नेपालले असहमति जनाएका हुन्।
नेपालले फेसबुकमा लेखेका छन्, 'हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदलस्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ।'
वरिष्ठ नेता नेपालले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने गरी कुनै सहमति नहुने बताएका छन्।
उनले भनेका छन्, 'अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।'
स्रोतका अनुसार सहमतिको बुँदा नम्बर ६ लाई वरिष्ठ नेता नेपालले शंकास्पद र अदालतको फैसला प्रभावित पार्ने उद्देश्यअनुरूप रहेको आफू निकटस्थहरूसँग बताएका छन्। कार्यदलमा भएको सहमतिअनुसारको महत्वपूर्ण सोही बुँदालाई मानिएको छ।
सोही बुँदाका कारण आइतबार नै सहमति घोषणा गर्नुपर्ने दबाबमा कार्यदल परेको बुझ्न सकिन्छ।
उक्त बुँदामा भनिएको छ, 'प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुरूप हामी अगाडि बढ्नेछौँ।'











