Kathmandu Press

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बाराका नेताकार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बाराका नेताकार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना

काठमाडौं, असार २७ : क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै नेपाली कांग्रेस बाराका नेता–कार्यकर्ताले सानेपास्थित पार्टी कार्यालय परिसरमा आज (आइतबार) धर्ना दिएका छन्।

क्रियाशील सदस्यता वितरण विधिसंगत नहुँदा कांग्रेसका लागि ठूलो क्षति पुग्ने भन्दै त्यसलाई सच्याउन माग राखेर आफूहरू धर्नामा बसेको उनीहरूले बताएका छन्।

धर्नामा पूर्वसांसदहरु रामअयोध्या यादव, लालबाबु सिन्हा, नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारलगायत नेता–कार्यकर्ता सहभागी छन्।

बारामा वडा सभापतिहरूलाई बाइपास गरेर निर्वाचन क्षेत्र र पालिका कार्यसमितिको बैठक नै नराखी क्रियाशील सदस्यता इन्ट्री गरेको आरोप उनीहरूले लगाएका छन्। 

‘बारा निर्वाचन क्षेत्र नम्बर १, २ र ४ का क्षेत्रीय सभापतिहरूले नयाँ क्रियाशील सदस्य सिधैं इन्ट्री गरेको र पार्टीमा योगदान नदिएकाहरूलाई पनि क्रियाशील सदस्यता दिएको आरोप उनीहरूको छ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ। त्यसका लागि असार २० सम्म क्रियाशील सदस्यता टुंगो लगाइसक्ने भनिए पनि विविध प्राविधिक कारणले काम नसकिएको छानबिन समितिले बताएको छ।  

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्