पाकिस्तानका दुई विश्वविद्यालयका उपकुलपति र नेपाली विद्यार्थीसँग राजदूत अधिकारीको भेट
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले त्यहाँका दुई प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौं– पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले त्यहाँका दुई प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
पाकिस्तानको सिन्ध प्रान्तको मुल्तान शहरको भ्रमणमा गएका राजदूत अधिकारीले त्यहाँस्थित निस्तार मेडिकल युनिभर्सिटीका उपकुलपति प्रा. डा. अहमद इजाज मसुद र बहाउद्दिन जकारिया युनिभर्सिटीका उपकुलपति प्रा. डा. मन्सुर अकबर कुन्डीसँग शिष्टाचार भेट गरेका हुन् ।
दुवै उपकुलपतिसँग नेपाल र पाकिस्तानबीच शैक्षिक क्षेत्रमा सहयोग र समन्वय बढाउने सम्भाव्यताबारे छलफल भएको राजदूत अधिकारीले जानकारी दिए । दुवै विश्वविद्यालयमा नेपाली छात्रछात्रा अध्ययनरत छन् ।
नेपाली छात्रछात्रालाई चिकित्सा शिक्षा प्रदान गर्दै उनीहरूको भलाइमा ध्यान दिएकामा राजदूत अधिकारीले दुवै उपकुलपतिलाई आभार प्रकट गरेका थिए । दुवैजनाले नेपाली विद्यार्थीहरूको मिहिनेत, अनुशासन र सिकाइमा गहिरो दिलचस्पीप्रति सराहना गरेका थिए ।
र, नेपाली विद्यार्थीहरूको ‘परफर्मेन्स’ तथा उनीहरू विश्वविद्यालयको हिस्सा बनेकामा दुवै उपकुलपतिले प्रसन्नता व्यक्त गरेका थिए ।
त्यसक्रममा दुवै विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग पनि राजदूत अधिकारीले कुराकानी गरेका थिए । र, उनीहरूलाई पाकिस्तानमा सिकेको ज्ञान, कौशल र सद्भावनाका साथ अध्ययन सकी स्वदेश फर्किएर कमजोर आर्थिक अवस्थाका मानिसको सेवामा जुट्न राजदूत अधिकारीले आग्रह गरेका थिए । मुल्तानमा ४० नेपाली विद्यार्थी चिकित्साशास्त्र अध्ययनरत छन् ।











