एमाले कार्यदल बैठक सिंहदरबारमा जारी
काठमाडौं, असार २६ : एमाले आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। आज अपराह्न साढे २ बजे बस्ने भनिएको बैठक पौने ५...
काठमाडौं, असार २६ : एमाले आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ।
आज अपराह्न साढे २ बजे बस्ने भनिएको बैठक पौने ५ बजेतिर सुरु भएको हो।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्यहरू आन्तरिक छलफलमा जुटेकाले बेठक ढिला सुरु भएको नेताहरूले जनाएका छन्।
सोमबारदेखि हरेक दिन हुँदै आएको बैठक शुक्रबार पनि बसेको थियो। शुक्रबार आठ घन्टाजति बसेको बैठकले लगभग सहमति गरेको र आज (शनिबार) को बैठकमा औपचारिक घोषणाहुने दाबी कार्यदलका सदस्यहरूले गरेका थिए।
एमाले प्रवक्तासमेत रहेका ओली पक्षीय कार्यदल सदस्य प्रदीप ज्ञवालीले भाषिक शुद्धतालगायत विषयलाई पूर्णता दिएपछि कार्यदलनिष्कर्षमा पुग्ने बताएका थिए।
त्यस्तै नेपाल पक्षीय कार्यदल सदस्य गोकर्ण विष्टले लामो छलफलपछि सहमतिको अवस्था बनेको प्रतिक्रिया दिएका थिए।
आजको बैठकमा एमाले पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालसमूहबीच माथिदेखि तल्लो तहसम्म शक्ति सन्तुलन मिलाउनेलगायत विषयमा टुंगो लाग्ने नेताहरूले बताएका छन्।
कार्यदलका सदस्यबीच कुरा मिलिसके पनि अध्यक्ष ओली र नेता नेपालबीच केही विषयमा अडान कायम राखिरहेकाले सहमतिले मूर्त रूप लिन नसकिरहेको बताइएको छ।
प्रतिनिधिसिभा पुनःस्थापना हुनुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिइएको रिटमा एमाले नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षरबारे पनि दुई नेताबीच सहमति हुन बाँकी छ।
नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने, बरु अदालतको फैसला आएपछि साझा धारणा बनाउने गरी सहमति खोज्नुपर्ने अडान राखेको छ भने ओली समूहले फिर्ता हुनैपर्नेमा जोड दिँदै आएका छन्।
नेता नेपालले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखिरहँदा अध्यक्ष ओली भने सार्वजनिक गरिसकिएको महाधिवेशन तालिका फिर्ता हुन नसक्ने अडानमा रहेको बुझिएको छ।











