Kathmandu Press

मधेसीमाथि प्रहरीले दमन गरेको भन्दै मानवअधिकार आयोगमा पुग्यो राजपा

काठमाडौं, असार १७ : सर्लाही र महोत्तरी घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपाल राष्ट्रिय मानव अधिकार....

मधेसीमाथि प्रहरीले दमन गरेको भन्दै मानवअधिकार आयोगमा पुग्यो राजपा

काठमाडौं, असार १७ : सर्लाही र महोत्तरी घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपाल राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ। 

राजपा अध्यक्ष मण्डलको टोलीले बुधबार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारण जनतामाथि गोली चलाएर दमन गर्न खोजेकाले मानव अधिकारको रक्षाका लागि पहल गर्न आग्रह गरेको हो।

गत असार १५ गते पूर्वपश्चिम  राजमार्गको सर्लाहीको बाँके चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउँदा इश्वरपुर नगरपालिका–१३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो। 

मृतक सिंहको टाउकोमा गोली लागेको थियो। प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेसी जनतालाई हेर्ने दृष्टिकोण अन्य भन्दा फरक रहेको राजपाले आरोप लगाएको छ। प्रहरीले मान्छेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोली नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसेको आरोप पनि लगाएको छ।

राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानविन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए।  पछिल्ला केही घटनामा शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्न थालेको भन्दै शर्माले बिना दबाब सरकारले केही नगर्ने बताएका थिए।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सरोज सिंहको टाउकोमा गोली लागेको थियो।
 

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, असार १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्