Kathmandu Press

दक्षिण एसियासँग चीनको गठबन्धन, भारत सहभागी भएन

काठमाडौं, असार २६ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) जस्तै विभिन्न राष्ट्रको अर्को...
दक्षिण एसियासँग चीनको गठबन्धन, भारत सहभागी भएन

काठमाडौं, असार २६ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) जस्तै विभिन्न राष्ट्रको अर्को एउटा संगठन बनेको छ।

त्यो हो, चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र। सार्क र बिमस्टेकमा भारतको सहभागिता थियो चीनको थिएन। तर यो नयाँ संगठनमा भारत सहभागी भएन। चीनको पहल र अगुवाइमा उक्त संगठन स्थापना गरिएको हो। 

सो संगठनको विधिवत् स्थापनाका लागि चीनको चोङचिङ सहरमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओले विशेष सम्बोधन गरेका थिए।

सोही कार्यक्रममा चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले पनि सम्बोधन गरेका थिए। त्यसैगरी बंगलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलंकाका राजदूतले पनिकार्यक्रममा बोलेका थिए। 

दक्षिण एसियाली राष्ट्रमध्ये भारतलाई सो कार्यक्रममा निमन्त्रण गरिए पनि उपस्थिति नजनाएको बताइएको छ। चीनसँग कुनै कूटनीतिक सम्बन्ध नभएकाले भूटान उक्त कार्यक्रममा सहभागी नभएको जनाइएको छ। माल्दिभ्स पनि कार्यक्रममा सहभागी भएन।

चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यीले सो संगठनको स्थापनाका लागि प्रस्ताव गरेका थिए।

गएको अप्रिलमा कोरोना संक्रमणले निम्त्याएको महामारी रोकथाम र नियन्त्रणबारे दक्षिण एसियाली विभिन्न देशका विदेशमन्त्रीसँग छलफल गर्ने क्रममा वाङले उक्त सेन्टर स्थापनाको प्रस्ताव राखेका थिए।

उक्त प्रस्तावमा समर्थन जनाउने देशहरू कार्यक्रममा सहभागी भएका थिए।

यस संगठनले मूल रूपमा गरिबी नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ। त्यसका लागि शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास तथा जनजीविका सुधारका लागि ज्ञान आदानप्रदान गर्ने उद्देश्य राखिएको छ। 

सोही अवसरमा चीनले गाउँले गरिबी निवारणका लागि चीन-दक्षिण एसियाली देशको ई-कमर्स फोरम स्थापना गर्ने घोषणा पनि गरेको थियो।

प्रकाशित मिति: १५:४६ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्