सरकार विरुद्ध कांग्रेसले माघ २१ गते देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं, माघ १३ : कांग्रेसले डा.गोविन्द केसीसँग भएको सम्झौता विपरितर संसददीय परम्परालाई लत्ताएर विधेयक पारित गरेको लगायत विषयमा सरकार विरुद्ध देशव्या....

काठमाडौं, माघ १३ : कांग्रेसले डा.गोविन्द केसीसँग भएको सम्झौता विपरितर संसददीय परम्परालाई लत्ताएर विधेयक पारित गरेको लगायत विषयमा सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
आईतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले माघ २१ गते ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकले माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै घोर भत्सना समेत गरेको छ ।
कांग्रेसले विरोध प्रदर्शनमा पाँच मुद्दालाई उठाउने पनि निर्णय गरेको छ । संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार, स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास लगायत सरकारको निर्णय विरोध प्रदर्शनको मुख्य एजेण्डा बनाइने भएको छ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको भएको ठकर पनि कांग्रेस बैठकले गरेको छ ।
बैठकले देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको भन्दै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन नसकी निर्दोषलाई दोषी ठहर्याउने षडयन्त्र गरेको आरोप पनि लगाएको छ।
महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरूप्रति कांग्रेसले प्रदर्शनमा जोडदार रुपमा उठाउने निर्णय गरेको छ ।
माघ २१ गतेको प्रदर्शनका लागि कांग्रेसले सबैलाई अपिल पनि गरेको छ । केन्द्रीय समितिको अर्को बैठक भोली सोमबार अपरान्ह १ वजे बस्नेछ । आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के।सी।, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईले आफ्नो धारणा राखेका थिए ।











