Kathmandu Press

बीपी प्रतिष्‍ठानको आन्दोलनमा प्रधानमन्त्रीको मौनताप्रति कांग्रेसको प्रश्‍न

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका कर्मचारी, विद्यार्थी र चिकित्सकको आन्दोलन तत्काल सम्बोधन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
बीपी प्रतिष्‍ठानको आन्दोलनमा प्रधानमन्त्रीको मौनताप्रति कांग्रेसको प्रश्‍न

काठमाडौं, असार २५ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका कर्मचारी, विद्यार्थी र चिकित्सकको आन्दोलन तत्काल सम्बोधन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत प्रश्‍न गरेका छन्, ‘बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्‍ठानमा जारी आन्दोलनप्रति कुलपति प्रधानमन्त्री अझै किन मौन ?’

चिकित्सक, विद्यार्थी र कर्मचारीको आन्दोलन एक महिना पुग्‍न लाग्दा पनि प्रतिष्‍ठानका कुलपति प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा कांग्रेसले दुःख र चिन्ता प्रकट गरेको छ ।

‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौँ विषय पर्छन् र छन् भन्‍ने तथ्यमा कसैको दुई मत छैन । तर, त्यो भनिरहँदा प्रतिष्‍ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्‍नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्‍ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्‍ठान र नागरिकसमेतलाई गम्भीर असर पुग्छ र पुगिरहेको छ भन्‍ने हेक्का कुलपतिलाई नहुनु दुःखद् छ ।’

प्रतिष्‍ठानभित्रका अनेकन बेथिति र अराजकतालाई ढाकछोप होइन, आवश्यक उपचार गर्न कांग्रेसले ध्यानाकर्षण गराएको छ । ‘प्रतिष्‍ठानको प्रतिष्‍ठा र भविष्‍यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्‍य सुरक्षित गर्न सकिन्‍न,’ विज्ञप्तिमा उल्लेख छ, ‘अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र  विद्यार्थीहरूसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्‍ठानभित्र सहज वातावरण निर्माण गर्न कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्छ ।’

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्