कांग्रेसमा अहिलेसम्म ८,५३,००० क्रियाशील सदस्य : दलित, जनजाति र महिला न्यून
काठमाडौं, असार २४ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि नेता–कार्यकर्ता तीव्र रूपमा जुटिरहेका छन्। कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिलाई पनि यतिबेला भ्याइनभ्याइ...
काठमाडौं, असार २४ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि नेता–कार्यकर्ता तीव्र रूपमा जुटिरहेका छन्। कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिलाई पनि यतिबेला भ्याइनभ्याइ छ।
हरेक महाधिवेशनमा कांग्रेसमा क्रियाशील सदस्यता विवाद सबैभन्दा पेचिलो समस्या बनेर उभिने गरेको छ। १४औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाबमोजिम क्रियाशील सदस्यता टुंगो लगाउन बनाइएको छानबिन समितिका लागि २० गतेसम्ममा काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो। तर प्राविधिक समस्याका कारण काम सम्पन्न हुन नसक्दा सदस्यता टुंगो लाउन असार मसान्तसम्मको समय लाग्ने समितिको भनाइ छ।
कांग्रेस क्रियाशील सदस्यता टुंगो लाउने काममा सक्रिय रहिआएको समितिले अहिलेसम्म कांग्रेस क्रियाशील सदस्यता ८ लाख ५३ हजार जनाको टुंगो लागिसकेको बताएको छ। जसमा दलित, जनजाति र महिलाको संख्या भने न्यून रहेको छानबिन समितिको भनाइ छ।
कांग्रेसको १३औं महाधिवेशमा क्रियाशील सदस्य ७ लाख ७७ हजार थिए। सो महाधिवेशनममै १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य कांग्रेसले लिएको थियो। अघिल्लो महाधिवेशनका लागि राखिएको लक्ष्यवरिपरि कांग्रेस क्रियाशील सदस्यता यसपालि पुग्ने नपुग्ने केही भन्न सकिने स्थिति छैन। नयाँ थपिँदा पनि छानबिनका क्रममा विविध कारणले सदस्यता घट्न पनि सक्ने समतिले जनाएको छ।
क्रियाशील सदस्यता छानबिन समितका सदस्य तथा सो समितिका प्रवक्ता प्रदीप पौडेलले अहिलेसम्म ४ लाख १० हजार पुराना सदस्यको नवीकरण भएको र ४ लाख ४३ हजार नयाँ थपिएको बताए। जनसम्र्पक समितिबाट नवीकरण गरिएका तथा नयाँ थपिएका क्रियाशील सदस्यको विवरण आउन भने बाँकी रहेको उनले जानकारी दिए। सदस्यताको छानबिन भइरहेका कारण सदस्यता थपघटको सम्भावना पनि रहेको उनको भनाइ छ।
लगभग ४० प्रतिशत सदस्यले क्रियाशील सदस्यता नवीकरण नगराएको पाइएको छ। ‘अनुमानित ५० हजार सदस्यको मृत्यु भइसकेको तथा अरू प्रायः वैदेशिक रोजगारीका सिलसिलामा स्वदेशमा नरहेकाले नवीकरण हुन नसकेको वा नगराएको पाइएको छ,’ प्रवक्ता पौडेलले भने।
हालसम्म प्राप्त भएको सदस्यता विवरणमध्ये महिला ३० प्रतिशतको हाराहारीमा रहेको उनले बताए। दलित र जनजातिबाट भने १५ प्रतिशत पनि सदस्यता नभएको उनले सुनाए। कानुनले जुनसुकै संस्थामा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरे पनि कांग्रेस क्रियाशील सदस्यताको हकमा सो प्रतिशत पुगेका देखिँदैन।
पहिलादेखि नै महिला, जनजाति तथा दलित सदस्यता आर्थिक अभावका कारण कम हुने गरेको पाइएको प्रवक्ता पौडेलले बताए। ‘विपन्न वर्ग तथा दलित समुदायका महिला तथा युवकहरू आर्थिक अभावका कारण धेरै वैदेशिक रोजगारमा जाने गर्छन्, त्यसकारण पनि पार्टीसँग कम जोडिन्छन्।’
उनका अनुसार सानै उमेरदेखि आर्थिक भार बोक्ने भएका कारण दलित तथा जनजाति राजनीतिमा कम सक्रिय हुने गरेको पाइएको छ। ‘राजनीतिमा लाग्न आर्थिक सहयोगसँगै परिवारको सहयोग पनि आवश्यक पर्छ,’ पौडेलले भने, ‘पहिलादेखि नै जनजाति र दलितको राजनीतितिर सक्रियता कम भएकाले सदस्यतासमेत कम भएको हो।’
पौडेलका अनुसार महिलालाई पनि स्वतन्त्रता कम मिल्ने भएकाले राजनीतिमा महिलाको संख्या कम भएको पाइन्छ। त्यो कांग्रेसमा पनि लागु हुने उनको बुझाइ छ। कांगेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा सम्पन्न गर्नेगरी कांग्रेसले तयारी गरिरहेको छ।












-(86)-1764936079.jpg)