एमालेका कारण असारमा मात्र कर्णाली प्रदेशसभा बैठक सातौंपटक अवरुद्ध
सुर्खेत, असार २४ : एमालेको अवरोधका कारणमा कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि चल्न सकेन। बैठक सुरु भएलगत्तै एमालेले अवरोधगरेपछि सभामुख राजबहादुर शाहीले आइतबार दिउँसो...
सुर्खेत, असार २४ : एमालेको अवरोधका कारणमा कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि चल्न सकेन।
बैठक सुरु भएलगत्तै एमालेले अवरोधगरेपछि सभामुख राजबहादुर शाहीले आइतबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
एमालेकै कारण असार १ यता हालसम्म सातवटा बैठक स्थगित भइसकेका छन्। बैठक चल्न नसक्दा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–८९ को बजेटमाथि हुनुपर्ने छलफल नै रोकिएको छ।
प्रदेश सरकारले असार १ गतेको बैठकमा बजेट प्रस्तुत गरिसकेको छ। प्रदेशको बजेट असारभित्रै पारित गर्नुपर्ने संवैधानिक बाध्यता छ। एमालेले आफ्ना मागको सुनुवाइ नभएसम्म संसद् बैठक चल्न नदिने बताएको छ। एमालेले बहुमतमाथि अल्पमतले शासन गरेको र सरकार संविधानविपरीत चलिरहेको भन्दै संसद चलन दिइरहेको छैन।
कर्णाली प्रदेशसभामा ३९ सांसद छन्। जसमध्ये एमालेका २० सांसद छन्। जसमध्ये एकजना सभामुख छन्। आफू बहुमतमा हुँदा पनि कर्णाली सरकार एमालेको नेर्तत्वमा बन्न सकेको छैन। एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रभाव कर्णालीमा पनि भएकाले बहुमत हुँदा पनि सरकार बनाउन नसक्ने स्थिति बनेको हो।
तअहिले नेपाल समूहका तीन सांसद सरकारमा सहभागी छन्। ती सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दबहादुर सिंह हुन्। उनीहरूले मन्त्रीबाट राजीनामा दिए मात्र संसद् चल्न दिने अडानमा एमालेले राख्दै आएको छ।
बिहीबारको बैठकमा एमाले सांसद दल रावलले कर्णालीमा संविधानविपरितको काम भएको बताए। अल्पमतले बहुमतमाथि शासन गर्नु लोकतन्त्रकै उपहास भएको उल्लेख गर्दै उनले संसद्मा एमालेको एकल बहुमत भएको र एउटै पार्टी सत्तापक्ष र प्रतिपक्ष हुन नसक्ने बताए। रावलले बोलेपछि एमालेका सांसदहरुले बैठकमा उभिएर अवरोध गरेका थिए।
अहिले कर्णालीमा माओवादी, कांग्रेस र एमाले नेपाल समूहको समर्थनमा सरकार चलिरहेको छ। माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्। एमाले एक्लैको २० सांसद हुँदा पनि आन्तरिक विवादका कारण विभाजित हुँदा कर्णालीमा एमाले नेतृत्वको सरकार असम्भव बनेको छ।









-1789821441.jpg)

