विराटनगर जुटमिल डुबाउन खोज्नेलाई नदी उकासको सरकारी जग्गा दिएको प्रति कांग्रेसको आपत्ति
विराटनगर, असार २४ : प्रदेश १ सरकारले विराटनगर जुटमिल डुबाउन खोज्नेलाई नदी उकासको सरकारी जग्गा दिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आज (बिहीबार)...
विराटनगर, असार २४ : प्रदेश १ सरकारले विराटनगर जुटमिल डुबाउन खोज्नेलाई नदी उकासको सरकारी जग्गा दिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
आज (बिहीबार) को प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक केदार कार्कीले प्रदेश सरकारले विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने निलहरि काफ्लेलाई सरकारी जमिन लिजमा दिएको भन्दै आपत्ति जनाएका हुन्।
प्रदेश सरकारले उदयपुरको बेलका नगरपालिका-३ मा सप्तकोसी नदीले उकासेको करिब १ सय ७५ हेक्टर जमिन निजी कम्पनीलाई ३० वर्षका लागि लिजमा दिने निर्णय गरिसकेको छ।
सरकारले त्यहाँको जग्गा निलहरि काफ्लेको बराह हर्बल एन्ड एग्रो प्रालिलाई करिब ५१ हेक्टर र उनी निकटका व्यावसायीको सेफ वे टेक्नोलोजी ललितपुरलाई करिब १ सय २५ हेक्टर लिजमा दिएको छ।
काफ्ले महेश बस्नेत उद्योगमन्त्री हुँदा विराटनगर जुटमिलको अध्यक्ष बनेको र सोही बेला सरकारी सेयर निजी क्षेत्रलाई बिक्री गरेको आरोप उनीमाथि लाग्दै आएको छ।
‘कोसी नदी उकासको जमिन खेतीका लागि नदिऔं, संरक्षण गरौं र पर्यटकीय क्षेत्र बनाऔं भनेर हामीले कुरा गर्यौं तर सरकारको कुत्सित मनसाय निलहरि काफ्लेलाई दिने रहेछ,’ उनले भने।
जुटमिलको ६८ प्रतिशत सरकारको सेयर ३३ प्रतिशतमा झार्ने काफ्लेलाई दिन कोसी टप्पुको जग्गा खेती गर्न दिने भनेर प्रदेश सरकारको नीति तथा कार्यक्रममा राखेको पर्दाफास भएको पनि उनले जिकिर गरे।









-1789821441.jpg)

