पहिरोको कारण ठाउँठाउँमा सडक अवरुद्ध

काठमाडौं, असार २४ : अविरल वर्षका कारण पहिरो जाँदा विभिन्न जिल्लाका सडक अवरुद्ध बनेका छन्।
चितवनको भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिन सडकखण्डको सेतीदोभान भन्ने स्थानमा बुधबार राति ढुङगासहितको पहिरो जाँदा उक्त सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ। प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।
बाजुराको बुढिगंगा नगरपालिका–८ खर्रेखोला, सोही नगरपालिका–१ अमकोट, बडिमालिका नगरपालिका–४ स्थित ओलेना, रिलाखोला, हटटे खोला भन्ने स्थानमा बुधबार राति पहिरो जाँदा साँफे(मार्तडी राजमार्ग अवरोध भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
प्यूठानको माण्डवी गाउँपालिका–१ सिमलचौरमा बिहीबार बिहान लेदोसहितको पहिरो जाँदा भालुवाङ–प्यूठान सडक अवरोध भएको छ। अस्थायी प्रहरी पोस्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नैनीबगर, सोही गाउँपालिका–३ रुप्से छहरा, रघुगंगा गाउँपालिका–१ बेगखोला, सोही गाउँपालिका–३ राहुघाटलगायत स्थानमा बुधबार राति पहिरो जाँदा बेनी–जोमसोम सडक अवरोध भएको छ।जिल्ला प्रहरी कार्यालय म्याग्दी र सिमा प्रहरी चौकी भुरुङ तातोपानीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ कल्लेरीस्थित मध्य पहाडी राजमार्गमा पहिरो र लेदो आई कल्लेरी–नागथान सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ।
प्रहरी चौकी खाङसाङबाट खटिएको प्रहरीले अवरोध हटाउने आवश्यक पहल गरिरहेको छ।










-1789821441.jpg)
