ओली र नेपालसँग थप छलफल गरेर भोलि बस्ने भन्दै सकियो कार्यदल बैठक
काठमाडौं, असार २३ : आन्तरिक विवाद समाधान गर्दै पार्टी एकताका लागि गठित कार्यदलको आज (बुधबार) को बैठक सकिएको छ।सिंहदरबारमा बसेको बैठकले पार्टीभित्रको विवाद समाधानका...
काठमाडौं, असार २३ : आन्तरिक विवाद समाधान गर्दै पार्टी एकताका लागि गठित कार्यदलको आज (बुधबार) को बैठक सकिएको छ।
सिंहदरबारमा बसेको बैठकले पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग कतिपय विष्यमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सोमबारयता दैनिक रूपमा बस्दै आएको बैठक भोलि (बिहीबार) फेरि बस्ने बताइएको छ।
कार्यदलको बैठकअघि नेता भीम रावलले नेता नेपालसँग छलफल गरेका थिए। रावल नेपाल समूहबाट कार्यदल संयोजक हुन्।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य गोकर्ण विष्टले पार्टी एकताको लागि प्रयास जारी राखेको बताए।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएको छ।
पार्टी अध्यक्ष केपी ओली दसौं महाधिवेशन आयोजक कमिटी भंग गराई २०७५ जेठ २ अगाडि केन्द्रीय कमिटीलाई मान्यता दिन तयार भएपछि सहमतिको वातावरण बन्दै गएको हो।










-1789821441.jpg)
