बाढीपहिरोले ठाउँठाउँ सडक अवरोध, चारजना बेपत्ता
काठमाडौं, असार २३ : अविरल वर्षापछिको बाढीपहिरोका कारण ठाउँठाउँमा सडक अवरोध हुनुका साथै थुप्रै धनमालको क्षति भएको छ। पहिरोमा परी बाग्लुङमा एक र...
काठमाडौं, असार २३ : अविरल वर्षापछिको बाढीपहिरोका कारण ठाउँठाउँमा सडक अवरोध हुनुका साथै थुप्रै धनमालको क्षति भएको छ। पहिरोमा परी बाग्लुङमा एक र पर्वतमा तीन गरी चारजना बेपत्ता भएको प्रहरीको भनाइ छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुस्थित पासाङ ल्हामु स्याफ्रुबेसी–टिमुरे सडकमा मंगलबार साँझ ढुंगासहितको पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रूवेशीबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
त्यस्तै मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भिरस्थित बेनी–जोमसोम सडकखण्डमा मंगलबार राति ढुंगासहित पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घाँसाबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
त्यसैगरी बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीस्थित अर्खालबोट भन्ने स्थानमा बुधबार बिहान पहिरो जाँदा सोही ठाउँ बस्ने कृष्णबहादुर कार्कीको गोठ, भैँसी, बाख्रा पुरिएको छ । उनकै छोरा १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएका छन् ।
साथै सोही ठाउँ बस्ने २८ वर्षीय ध्रुव क्षेत्रीको होटेल पुरिएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ताराखोला र इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले बेपत्ता भएका राजेन्द्रको खोजी गर्नुका साथै उद्धार कार्य गरिरहेको छ ।
बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित सडक बुधबार बिहान ढुंगा, माटो, बालुवासहितको पहिरो जाँदा झरी साँफे–मार्तडी सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोस्ट बेलदेहबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ जुरेस्थित अरनिको राजमार्गमा सडक बुधबार बिहान ढुंगामाटोसहित गएको पहिरोले अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
पर्वतको कुश्मा नगरपालिका–४ गिल्मेरी खोलामा मंगलबार राति आएको बाढीले ल्याएको ढुंगा माटो थुपारदा पोखरा–बाग्लुङ सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
यसैगरी पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लास्थित दोबिल्ला खोलामा मंगलबार राति ढुंगामाटोसहितको लेदो आउँदा लामा कन्ट्रक्सनमा काम गर्ने दुई जना कामदार र अन्य एकजना व्यक्ति समेत गरी तीनजना बेपत्ता भएका छन् ।
सो कन्ट्रक्सनको गाडी र तीनवटा पसलको टहरासमेत बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत, केबल जंग गुल्म गोदाम ब्यारेक र सशस्त्र प्रहरी बल चन्द्रीका गणबाट खटिएको प्रहरीले घटनास्थलबाट एक थान मोटरसाइकल फेला परेको छ । साथै बेपत्ता भएका व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक उद्धार कार्य गरिरहेको छ ।
घटनास्थलमा तत्काल नजिको कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्यसमेत गरिरहेको जनाइएको छ ।










-1789821441.jpg)
