Kathmandu Press

ट्रम्पको हुवावे फुकुवा गर्ने वाचामा किन मौन छ चीन?

चीनका राष्ट्रपति सी जिन फिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैठकपछि चीनले सावधानीपूर्वक प्रतिक्रिया दिएको छ। ‘जि ट्वेन्टी सम्मेलनमा सहभागी हुन जापान प....

ट्रम्पको हुवावे फुकुवा गर्ने वाचामा किन मौन छ चीन?

चीनका राष्ट्रपति सी जिन फिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैठकपछि चीनले सावधानीपूर्वक प्रतिक्रिया दिएको छ। ‘जि ट्वेन्टी सम्मेलनमा सहभागी हुन जापान पुगेका ट्रम्पले दूरसञ्चार उत्पादक हुवावेविरूद्ध लगाइएको केही प्रतिबन्ध फुकुवा गर्नेबताएका थिए।

सि र ट्रम्पबीच शनिबार ८० मिनेट बन्द सत्रको बैठक भएको छ। बैठकपछि चीन सरकारले वार्ताको संक्षिप्त जानकारी दिँदै छोटो वक्तव्य प्रकाशन गर्‍यो। नेताद्वयले ‘युद्धविराम’ गर्ने सहमति गरेको र अमेरिकाले आयात गर्ने चिनियाँ सामग्रीमा नयाँ कर लागु नहुने वक्तव्यमा उल्लेख गरिएको छ।

सिन्ह्वा र विदेश मन्त्रालयले प्रकाशन गरेको अभिव्यक्तिमा हुवावेबारे केही उल्लेख नगरि पनि चिनियाँ कम्पनीलाई निष्पक्ष व्यवहार गर्न सिले ट्रम्पलाई आग्रह गरेको जनाइएको छ। हुवावेलाई अमेरिकाको कमर्श डिपार्टमेन्टको ‘एन्टिटी लिस्ट’मा राखिएको छ। सूचीमा राखिएका अमेरिकी कम्पनीले शेन्जेनका उत्पादकलाई उपकरण र पाटपुर्जा विक्री गर्न पाउँदैनन्। हुवावेलाई वाशिङ्टनले अमेरिकाको फाइभ जी नेटवर्कबाट पनि निषेध गरेको छ।

Hardik ivf

बैठकपछि आयोजना गरिएको प्रेस सम्मेलनमा राष्ट्रिय सुरक्षामा खतरा नभएसम्म अमेरिकी कम्पनीले हुवावेलाई उपकरण तथा पाटपुर्जा विक्री गर्न सक्ने ट्रम्पले घोषणा गरे। तर हुवावेलाई ‘एन्टिटी लिस्ट’बाट हटाउने–नहटाउने निर्णय पछि मात्रै गरिने भन्दै मुद्दाबारे मंगलबार अर्काे बैठक बस्ने उनले बताए।

‘हुवावेबारे पछि निर्णय गर्नेछौँ। अहिलेलाई व्यापार सम्झौतामा ध्यान दिइरहेका छौं,’ ट्रम्पले भने। यसबाट व्यापार युद्ध अन्त्य गर्ने सम्झौताको आधारमा मात्रै हुवावे विरूद्ध लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटाउनेबारे निर्णय हुने संकेत पाइएको छ।

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कड्लोले हुवावेविरूद्ध लगाइएको प्रतिबन्ध खुकुलो बनाइए पनि ‘आममाफी नभएको’ बताए। आइतबार ‘फक्स न्युज’लाई अन्तर्वार्ता दिँदै ‘निर्यात नियन्त्रित हुने र राष्ट्रिय सुरक्षामा हस्तक्षेप भए वा त्यस्तो संकेत पाए, अनुमति नै खारेज हुने एन्टिटी लिस्ट’बाट हुवावे नहट्ने उनले बताए।

चिनियाँ प्रतिनिधिमण्डल यसबारे चुप छन्। विदेश मन्त्रालयको डिपार्टमेन्ट अफ इन्टरनेशनल इकोनोमिक अफेयर्सका महानिर्देशक वाङ स्याओलोङले पनि ट्रम्पले गरेकै समयमा शनिबार प्रेस सम्मेलन गरेका थिए। तर, सी र ट्रम्पको बैठक वा हुवावे सम्बन्धी मामिलाबारे प्रत्यक्ष प्रतिक्रिया जनाउन मानेनन्।

‘चीन र अमेरिकाको द्विपक्षीय सम्मेलनबारे तपाईँ चिन्तित हुनुहुन्छ भन्ने मलाई थाहा छ। तर तपाईंहरूको प्रश्न जि ट्वेन्टी केन्द्रित हुनेछ भन्ने म आशा गर्दछु,’ वाङले ओसाकामा पत्रकारलाई भने,‘म सम्मलेनमा सहभागी थिइनँ त्यसले त्यहाँ के छलफल भयो म तपाईँलाई केही बताउन सक्दिनँ। अमेरिकाले हुवावेलाई लगाएको प्रतिबन्ध हटाउनसक्छ भन्ने सम्बन्धमा, उनीहरूले त्यसो गरे, निश्चय पनि हामी त्यसको स्वागत गर्नेछौं।’

यसपटक उनको प्रतिक्रिया भिन्न रह्यो। ट्रम्प र सिको बैठक गत डिसेम्बरमा ब्युनोस आयर्समा पनि भएको थियो। विदेशमन्त्री वाङ यी र सहायक वाणिज्यमन्त्री वाङ शोवेनले बैठक सकिएको केही घण्टापछि चिनियाँ र विदेशी सञ्चारमाध्यमलाई बैठकबारे जानकारी दिएका थिए।

हुवावेले पनि सावधानीपूवर्क प्रतिक्रिया दिइरहेको छ। प्रतिबन्ध हट्ने सम्भावनालाई लिएर गरिएको प्रश्नमा कम्पनीले साधारण अभिव्यक्ति मात्रै दिएको छ।
‘अमेरिकाका राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको हामीलाई थाहा छ र हाललाई थप प्रतिक्रिया दिन चाहन्नौं,’ कम्पनीले बताएको छ। ओसाकाको बैठकपछि चीनको सरकारी सञ्चारमाध्यमल अपेक्षा कम गराउने प्रयास गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपल्स डेलीको विदेश संस्करणको सोमबार प्रकाशित विचार स्तम्भमा‘सम्मेलनले दुवै पक्षलाई क्षति व्यवस्थापन गर्ने अवसर दिएको छ,’ भन्दै चीनको विदेश मन्त्रालय मातहतको ‘थिङ्क ट्याङ्क’ चाइना इन्स्ट्यिुट अफ इन्टरनेसनल स्टडिजका शोधकर्ता सु स्याओहुइले लेखेका छन्।

‘तर थुप्रै जटिल मुद्दालाई विचार गर्दा चीन र अमेरिकाको भावी सम्बन्धलाई लिएर उपयुक्त अपेक्षा राख्नुपर्छ। जे भए पनि अमेरिकी पक्षले अघिल्ला सहमति बारम्बार अस्वीकार गरेको छ, आफ्नै वाचा तोडेको छ, विश्वसनीयता उपेक्षा गरेको छ, र अघिल्लो चरणको वार्तामा नियतवश बाधा–अड्चन सिर्जना गरेको छ।’

पिपल्स डेलीसँग आबद्ध समाचारपत्र ग्लोबल टाइम्समा आइतबार प्रकाशित सम्पादकीयले पनि बेइजिङ र वाशिङ्टनको व्यापार वार्ताअघि धेरै दौडधुप हुनसक्ने तर्क दिएको छ। ‘अझै समाधान भएको छैन। हामीले भन्नैपर्छ –अमेरिकी पक्षले आलटाल गर्ने गरेको इतिहास छ। अमेरिकाको घरेलु राजनीतिमा जटिल शक्ति संरचना, वर्तमान प्रशासनभित्रको विवाद, र राष्ट्रपतिय निर्वाचन अभियानका चालहरू, केही कारण हुन् जसले अमेरिकाको अगाडिको बाटो परिवर्तन हुनसक्छ,’ सम्पादकीयमा चेतावनी दिइएको छ।

त्यसबाहेक चिनियाँ पक्ष बलियो गरी उभिनुपर्ने सम्पादकीयमा उल्लेख गरिएको छ। मे महिनाको प्रारम्भमा वार्ता स्थगित भएको केही सातापछि चीनले ‘युद्धका लागि देखाएको बहादुरी र दृढता’का कारण ओसाका सम्मेलनबाट सकारात्मक नतिजा आएको सम्पादकीयमा जोड दिइएको छ।

बाक्र्लेजका चीन सम्बन्धी मुख्य अर्थविद् ज्यान च्याङले ओसाकामा गरिएको युद्धविरामले ‘कुनै सहमति पुग्ने सम्भावना नबढाउने र वार्तालाई सकेसम्म जारी राख्नु नै दुवै पक्षको हितमा हुने’ बताए।

प्रविधि, बौद्धिक सम्पत्तिको सुरक्षा, औद्योगिक नीति र चीनमा सञ्चालित विदेशी कम्पनीका लागि न्यायोचित वातावरणजस्ता प्रमुख मुद्दा सम्बन्धी विवाद समाधानका लागि सहमति गरिएको संयन्त्रको अभाव र भिन्नताका कारण दीर्घकालीन सहमतिका लागि ‘महत्वपूर्ण बाधा’ अझै बाँकी रहेको मुडिजका एसिया–प्रशान्त प्रबन्ध निर्देशक माइकल टेलरले बताए।

‘यस्तोमा वार्ताले थप असफलता पाउनसक्छ। थप करको जोखिम अझै हटेको छैन,’ टेलरले भने।
 

प्रकाशित मिति: ०६:२१ बजे, बुधबार, असार १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्