Kathmandu Press

प्रहरीले बल प्रयोग गरेर खोल्यो निगममा कर्मचारीले लगाएको ताला 

काठमाडौं, असार २२ : नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएको तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर बिस्तारै...
प्रहरीले बल प्रयोग गरेर खोल्यो निगममा कर्मचारीले लगाएको ताला 

काठमाडौं, असार २२ : नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएको तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर बिस्तारै निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका थिए । ताला खुलाउने क्रममा कर्मचारी  र प्रहरीबीच झडप पनि भएको थियो ।

झडपमा केही कर्मचारी सामान्य घाइते भएका छन् । कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ । कर्मचारीहरूले आजै अर्थ मन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराएका छन् ।

कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ । निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो ।

प्रस्तावमा ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधारण समूह र पाँच प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेचेर निजीकरण गर्न सकिने उल्लेख छ ।  

प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्