सडक विभाग भन्छ- बिग्रिएका ट्राफिक लाइट मर्मतका लागि हामीसँग दक्ष जनशक्ति छैन
काठमाडौं, असार १७ : काठमाडौं उपत्यकाका २० ठाउँमा सवारीसाधन र ९ ठाउँमा पैदल यात्रुका लागि जडान गरिएका प्राय ट्राफिक लाइट बिग्रिएका छन्। यीमध....
काठमाडौं, असार १७ : काठमाडौं उपत्यकाका २० ठाउँमा सवारीसाधन र ९ ठाउँमा पैदल यात्रुका लागि जडान गरिएका प्राय ट्राफिक लाइट बिग्रिएका छन्। यीमध्ये सात वटामात्रै हाल सञ्चालनमा छन्।
२०६७ सालमा जापान सरकारले आफ्नै देशका प्राविधिकहरु पठाएर काठमाडाैं उपत्यकामा ट्राफिक लाइट जडान गरिदिएको थियो। तर, धेरैजसो ठाउँका लाइट जडान गरेको केही सयमै बिग्रिएका थिए। बिग्रिएको धेरै समय भइसक्दा पनि ती लाइटहरुको मर्मतका लागि सडक विभागले कुनै चासो दिएको छैन।
ट्राफिक लाइटको मर्मत किन हुन नसकेको? भन्ने प्रश्नमा सडक विभागका सडक सुरक्षा तथा ट्राफिक शाखा वरिष्ठ इञ्जिनियर दीप बाराहीले जापानीज प्रविधिका सडक बत्ती मर्मत गर्न सक्ने नेपालमा प्राविधिक नभएकाले समस्या भएको जवाफ दिए।
योपनि: वर्षौंदेखि बल्दैनन् राजधानीका ट्राफिक लाइट
‘हामीसँग मर्मतका लागि दक्ष प्राविधिक र उपकरण छैनन्,’ उनले भने,‘ती ट्राफिक लाइट मर्मतका लागि विदेशबाटै प्राविधिक बोलाउनुपर्ने भएकाले मर्मत गर्न सकिएको छैन।’
हाल सञ्चालनमा रहेका नयाँ बानेश्वर र महाराजगञ्जका ट्राफिक लाइट पनि गत वर्ष बिग्रिएका थिए। तर, पछि नेपाली प्राविधिकहरुले नै ती लाइटको मर्मत गरेका थिए। ट्राफिक लाइटको आवश्यक परेको बेला स्वदेशमै प्राविधिक उत्पादन गर्नुपर्छ भन्ने उदेश्यले काम गर्दा दुइ ठाउँमा सफलता पाएको सडक विभागले जनाएको छ।
बिग्रिएका लाइट मर्मतपछि महाराजगञ्ज र नयाँ बानेश्वरमा सञ्चालनमा आएपछि यो वर्ष उपत्यकाका थप ८ ठाउँमा जडान गरिएको छ। कालीमाटी, सिंहदरबार, पद्यमोदय मोड, बागबजार, तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कमा ट्राफिक लाइट जडान गरी परीक्षण पनि गरिसकेकाले अब छिट्टै सञ्चालनमा ल्याइने बाराहीले बताए।
के हो समस्या?
नेपालमा ट्राफिक लाइट सम्बन्धी विज्ञ निकै कम रहेकाले बिग्रिएका ट्राफिक लाइट समयमै मर्मत गर्न नसकिने बाराही बताउँछन्। उनले दक्ष जनशक्ति नेपालमा नहुनु नै मुख्य समस्या भएको बताए। ‘ट्राफिक लाइटमा इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, सबै चिजको समिश्रण हुन्छ,’ उनले भने,‘यो सबै कुराको ज्ञान भएको विज्ञ जनशक्ति हामीसँग छैन।’






