Kathmandu Press

पनौतीलाई ‘विश्वसम्पदा’मा सूचीकृत गराइँँदै

पनौतीलाई ‘विश्वसम्पदा’मा सूचीकृत गराइँँदै

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत हुने जनाइएको छ। 

सूचीकृतको कामले यो वर्ष तीव्रता पाएकोसमेत नगरले जनाएको छ।

सूचीकृतको अन्तिम प्रक्रिया मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बताए।

उनले भने, ‘मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ।’

पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए। 

अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको छ।

‘हामी बाह्र वर्षे मकर मेला अर्थात् आउँदो माघ महिना अगावै विश्वसम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौं, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ’, न्यौपानेले भने।

उनका अनुसार नगरले चालू आर्थिक वर्षमा विश्वसम्पदामा सूचीकृत गराउन एक करोड बजेट छुट्याएको छ। 

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ।

सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए।

उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयका आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ।’ त्यसपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्नेछ। 

हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिनसक्ने बताइन्छ।

सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माणको काम धमाधम भइरहेको छ।

नगर कार्यालयद्वारा साँस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे ९घरबास० सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ। 

पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ।

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष साँस्कृतिक महत्व राख्ने ९जस्तैस् वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर० धरोहरहरूलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ। सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ। 

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो। त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताए। 

पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ। पनौती नपाको वडा नं ५, ६ र ७ नम्बरमा १०० भन्दाबढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन्। फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो। 

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ।

काठमाडौं उपत्यका ९उपत्यकाका सात क्षेत्र स् काठमाडौं दरबार, पाटन दरबार, भक्तपुर दरबार, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर०, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। 

नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ। यसमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ। 

राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्ममावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ। 

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्ममावती मानिँदै आइएको छ। पनौती संघीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ। रासस

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्