Kathmandu Press

१४६ सांसदले अदालतमा रिट दिनुबाट वैकल्पिक सरकार बन्न सक्ने पुष्टिः वरिष्ठ अधिवक्ता कार्की

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १४६ जना सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट दिनुबाटै वैकल्पिक सरकार बन्न सक्ने पुष्टि हुने बताएका छन् ।
१४६ सांसदले अदालतमा रिट दिनुबाट वैकल्पिक सरकार बन्न सक्ने पुष्टिः वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं, असार २१ : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १४६ जना सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट दिनुबाटै वैकल्पिक सरकार बन्न सक्ने पुष्टि हुने बताएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गर्दै कार्कीले संविधानको धारा ७६ (५) ले संसदमा फ्री भोटिङको मान्यता दिएको बताए ।

उनले भने, ‘७६ (५) ले फ्री भोटिङलाई मान्यता दिएको छ र अब अदालतले भन्नुपर्छ– ७६ (५) मा दलीय ह्विप लाग्दैन र ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म सांसदहरूले फ्री भोटिङ गर्न सक्छन् ।’

धारा ७६ (५) मा सांसदले स्वतन्त्र ढंगबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्थालाई निर्दलीय भन्न नमिल्ने कार्कीले बताए । संविधान निर्माण क्रममा संसद् जोगाउन सांसदको विशेषाधिकारको व्यवस्था गरिएको उल्लेख गरे ।

धारा ७६ (५) को व्यवस्था केपी ओलीका लागि नभएको कार्कीले बताए । विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीले फेरि दाबी गर्न नमिल्ने उनले बताए ।

‘केपी ओलीले तीनजनाको हस्ताक्षर लिएर एक सय ५३ सांसदको समर्थन छ भनेर दाबी प्रस्तुत गर्नुभयो । यो उहाँका लागि थिएन । आफूलाई नभएको ठाउँमा निवेदन लिएर जानुभयो,’ कार्कीले भने, ‘त्यसलाई मान्यता नदिएर राष्ट्रपतिले एक सय ४९ सांसदको हस्ताक्षर लिएर गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुपथ्र्यो । त्यहाँ गम्भीर संवैधानिक त्रुटि भयो । त्यसकारण रिट जारी हुनुपर्छ, परमादेश जारी हुनुपर्छ ।’

संसदमा ह्वि लाग्ने–नलाग्ने विषय राष्ट्रपतिको चासोको कुरा नभएको उनले बताए । उनले भने, ‘पार्टीको ह्विप लाग्छ कि लाग्दैन, दलहरूले कारवाही गर्छन् कि गर्दैनन् भन्ने राष्ट्रपतिले चासो दिने विषय होइनन् । राष्ट्रपतिले असम्बन्धित विषय प्रतिनिधिसभा विघटनको कारणका रूपमा राखेको हुनाले राष्ट्रपतिको काम संविधानभन्दा बाहिर गयो ।’

अर्को प्रसंगमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा हस्ताक्षर गरेका सांसदले हस्ताक्षर फिर्ता लिन नमिल्ने बताए । ‘अदालतले जो जसले यहाँ हस्ताक्षर गरेका छन्, तिनलाई सरकार बनाउँदासम्म तिमीले यो फिर्ता लिन पाउँदैनौ भन्नुपर्छ । तिमीले अदालतलाई मजाकका रूपमा लिन पाउँदैनौ भनेर भन्नुपर्छ,’ उनले भने ।
 

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्