Kathmandu Press

वरिष्ठ अधिवक्ता दाहालको चुनौती : हस्ताक्षर किर्ते भए मुद्दा चलाएर देखाऊ

वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसदले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा हस्ताक्षर किर्ते भएको प्रमाणित गरेर देखाउन सरकारी पक्षलाई चुनौती दिएका छन्।
वरिष्ठ अधिवक्ता दाहालको चुनौती : हस्ताक्षर किर्ते भए मुद्दा चलाएर देखाऊ

काठमाडौं, असार २१ : वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसदले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा हस्ताक्षर किर्ते भएको प्रमाणित गरेर देखाउन सरकारी पक्षलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि जवाफी बहस गर्दै दाहालले हस्ताक्षर किर्ते भएको भए मुद्दा चलाएर देखाउन चुनौती दिएका हुन् ।

महान्यायाधीवक्ता रमेश बडालले आफ्नो बहसका क्रममा रिट निवदेनमा हस्ताक्षर किर्ते गरिएको दाबी गरेका थिए । ‘महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार हो । उहाँसँग मुद्दा चलाउने-नचलाउने अधिकार छ, अनुसन्धान गर्न सक्नुहुन्थ्यो। नाम  सच्याउने, टिपेक्स लगाउने र किर्ते गरेको प्रमाणित भए अनुसन्धान गरेर मुद्दा चलाउनु किन सक्नु भएन ?’ उनले प्रश्न गरे ।

सांसदहरूको हस्ताक्षर अर्कै प्रयोजनका लागि थियो भने त्यो केका लागि थियो भन्ने पनि पुष्टि गर्नुपर्ने दाहालले बताए । ‘१४६ मध्ये कसले मेरो हस्ताक्षर अरू नै प्रयोजनका लागि थियो, दुरुपयोग भयो भन्नुभयो ? मुद्दा चलाउने अधिकार पाएको व्यक्तिले किन आरोप लगाउनतिर मात्र लाग्नुभयो ?’ दाहालको प्रश्न थियो ।

एक सय ४६ जना सांसद नै अदालतमा उपस्थित भएर रिट दर्ता गराएको उनले उल्लेख गरे । र, त्यसलाई पाँचजनाले मात्र दर्ता गराएको भन्न नमिल्ने बताए । १४६ जना सांसदले आफैँ उपस्थित भएर हस्ताक्षर सनाखत गराएको उनले उल्लेख गरे । सरकारी पक्षले रिटमा पाँचजनाको मात्र हस्ताक्षर रहेको दाबी गरेको थियो ।

संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाको दाबी परेपछि प्रधानमन्त्री नियुक्त नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएको उनले उल्लेख गरे । देउवाले १४९ सांसदको र केपी ओली जम्मा तीनजनाको हस्ताक्षर लिएर गएको उनले स्मरण गराए । ‘राष्ट्रपतिले भनेको दोहोरो हस्ताक्षर कहाँ पर्‍यो ? केपी ओलीले हस्ताक्षर नै तीनजनाको बुझाएको हो, अरूको हस्ताक्षर नै बुझाएकै छैनन् कसरी दोहोरो पर्‍यो ?’

धारा ७६ (५) अनुसार सांसदहरूले स्वतन्त्र रूपमा हस्ताक्षर बुझाउनुपर्ने उनले उल्लेख गरे । १४९ जना सांसदको हस्ताक्षरलाई आधार मानेर अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने उनले जिकिर गरे ।

प्रधानन्यायाधीश राणाले एमाले नभई वैकल्पिक सरकार बन्ने अवस्था छ कि छैन भनेर दाहाललाई प्रश्न गरे । वैकल्पिक सरकार बन्ने देखेर नै सर्वोच्च अदालतमा रिट दाय। भएको दाहालको जवाफ थियो ।

‘अहिले कांग्रेस मात्र छैन, माओवादी र जनमोर्चा पनि छन् । एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन् । अदालतले संविधान बचाउने कुरा अहिले सोच्ने हो,’ दाहालले भने ।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्