Kathmandu Press

शिक्षामन्त्री श्रेष्ठविरुद्ध रुपाले दिइन् सर्वोच्चमा रिट

शिक्षामन्त्री श्रेष्ठविरुद्ध रुपाले दिइन् सर्वोच्चमा रिट

काठमाडौं, असार २० : शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रूपा सुनारले सर्वोच्चमा रिट हालेकी छन्। उनको रिट आइतबार  सर्वोच्च अदालतमा दर्ता भएको छ।

रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दिएकी हुन्। 

उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ।

अदालतबाट म्याद थप भइ अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन्। 

मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उनीविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि माग गरेकी छन्।  

रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। 

अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो। 

घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।
 

 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्