Kathmandu Press

प्रतिनिधिसभा विघटनको मुद्दामा सभामुखका वकिलले बहस गर्दै

काठमाडौं, असार २० : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका वकीलले बहस गर्ने भएका छन्। यस मुद्दामा असार ९ गतेदेखि निरन्तर बहस चलिरहेको छ।...
प्रतिनिधिसभा विघटनको मुद्दामा सभामुखका वकिलले बहस गर्दै

काठमाडौं, असार २० : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका वकीलले बहस गर्ने भएका छन्। 

यस मुद्दामा असार ९ गतेदेखि निरन्तर बहस चलिरहेको छ। शुक्रबार सरकारी पक्षका कानून व्यवसायीको बहस सकिएको थियो। 

सरकारी पक्षलाई दिइएको १५ घण्टामध्ये राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको तर्फबाट १४ घण्टा बसह भएको छ। अब एक घण्टा सभामुखका कानून व्यवसायीले बहस गर्नेछन्। 

आज सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लवकुमार मैनाली, उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता मेघराज पोखरेल तथा श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्। 

सभामुखका वकीलको बहस सकिएपछि निवेदक पक्षका वकीलले जवाफी बहस गर्नेछन्। उनीहरूको जवाफी बहसका लागि तीन घण्टा छुट्याइएको छ। 

त्यसपछि सोमबार अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। त्यो सकिएपछि संवैधानिक इजलासले फैसला सुनाउनेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। 

त्यसका विरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसद सर्वोच्च अदालत पुगेका थिए। उनीहरूसँगै २९ जना कानून व्यवसायीले पनि रिट दायर गरेका थिए। 

प्रकाशित मिति: ०८:५० बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्