Kathmandu Press

एमालेको विधान महाधिवेशन गर्ने ओली पक्षको एकपक्षीय निर्णय

वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट एमाले अध्यक्ष केपी ओली समूहले विधान महाधिवेशनको मिति तोकेको छ।
एमालेको विधान महाधिवेशन गर्ने ओली पक्षको एकपक्षीय निर्णय

काठमाडौं, असार १९ : वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट एमाले अध्यक्ष केपी ओली समूहले विधान महाधिवेशनको मिति तोकेको छ।

२५-२७ साउनका लागि विधान महाधिवेशन गर्ने निर्णय गरिएको हो। नवौँ महाधिवेशनबाट पारित एमालेको विधानको धारा १३ (क) मा विधान महाधिवेशनबारे उल्लेख छ। एक राष्ट्रिय महाधिवेशनदेखि अर्को महाधिवेशनबीच विधान महाधिवेशन गर्ने उल्लेख छ। केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्ने परिकल्पना विधानले गरेको छ।

यसअघि ओली पक्षले एकपक्षीय रूपमा पार्टी नेताहरूको उमेर हदसम्बन्धी व्यवस्था संशोधन गर्दै हटाएको थियो। उक्त निर्णय पनि विधान महाधिवेशनबाट अनुमोदन गरिने सम्भावना रहेको एक एमाले नेताले बताए।

विधान महाधिवेशनका लागि अध्यक्ष ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले सांगठनिक, विष्णु पौडेलले विधान संशोधन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन तयार पार्ने जिम्मा पाएका छन्।

यस्तै, पार्टीको दशौँ महाधिवेशन वैशाख ०७९ मा गर्ने प्रस्ताव महासचिव पोखरेलले केन्द्रीय कमिटीमा पेश गरेका छन्। यसअघि २-६ मंसिरमा दशौं महाधिवेशन गर्ने निर्णय गरिएको थियो।

महाधिवेशनका लागि असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरूलाई पूर्णता दिने निर्णय केन्द्रीय कमिटीले गरेको छ। ५ भदौमा वडा र १५ भदौमा पालिकाको अधिवेशन गर्ने तालिका तय भएको छ।

प्रकाशित मिति: १९:४० बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्