Kathmandu Press

सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममा : कोशीमा पानीको बहाव बढेसँगै सर्तकता अपनाउन आग्रह

सुनसरी, असार १९ : लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन्। सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक...
सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममा : कोशीमा पानीको बहाव बढेसँगै सर्तकता अपनाउन आग्रह

सुनसरी, असार १९ : लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन्। 

सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै ट्याङ्ग्रा खोला पसेर इटहरीको खनारलाई डुबाएको छ । अहिलेसम्म ठूलो समस्या नभए पनि यही अवस्थामा निरन्तर वर्षा भइरहेमा जिल्लाका धेरै स्थानका बासिन्दा विस्थापित हुन सक्ने सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले बताए। 

बुढी खोला, टेंयग्रा खोला, खेती खोलामा आएको बाढीले बस्तीमा पसेपछि इटहरीका वडा नं ८, १० र ११ डुबानमा परेका छन् । नदी तथा खोला किनारका स्थानीवासीलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ। 

निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ६५५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ। 

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म पानीको बहावलाई सामान्य मानिन्छ । 

नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५६३ परिवार विस्थापित भएका  थिए।
 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्