Kathmandu Press

नारायणगढ-मुग्लिन सडकमा तीन दिनदेखि पहिरैपहिरो

नारायणगढ-मुग्लिन सडकमा तीन दिनदेखि पहिरैपहिरो

चितवन, असार १९ : निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए। 

त्यसपछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो। नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो। 

इन्जिनियर खनालले भने, ‘मैले यो सडकमा काम गरेको ६ वर्ष भयो। पहिलो पटक यहाँ पहिरो खसेको हो।’ सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ।

पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भए पनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ। चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो। सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापाले सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताए। मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ। 

सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए। सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन्। ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उनले जानकारी दिए।

यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लेदो  खसिरहेकाले  सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्