Kathmandu Press

‘मलाई संसारमा केही चाहिँदैन, एउटा ल्यापटप भए पुग्छ’

काबुल: बालिकाहरू बिहान करिब सात बजेदेखि देखा पर्न थाले। टाढाबाट हेर्दा पातलो नीलो धर्साेजस्तो देखिए। धुलाम्मे बाटो हुँदै बाँझो पहाडबाट नागबेली घुम्दै ....

‘मलाई संसारमा केही चाहिँदैन, एउटा ल्यापटप भए पुग्छ’

काबुल: बालिकाहरू बिहान करिब सात बजेदेखि देखा पर्न थाले। टाढाबाट हेर्दा पातलो नीलो धर्साेजस्तो देखिए। धुलाम्मे बाटो हुँदै बाँझो पहाडबाट नागबेली घुम्दै आइरहेका थिए। उपत्यकाको फेदमा रहेको त्यो सानो स्कूलमा उनीहरू चारै दिशाबाट ओइरिँदै थिए।

अधिकांश सातदेखि १८ वर्षका छन्। उनीहरूले नीलो रंगको ‘युनिफर्म’ र टाउकोमा सेतो ‘स्कार्फ’ लगाएका छन्। उनीहरू एक घण्टा हिँडेर स्कूल आइपुगेका हुन्। कतिलाई त्योभन्दा धेरै समय पनि लाग्यो। बालकहरूको साना समूह पनि थिए। अधिकांशले ‘युनिफर्म’ लगाएका छैनन्। उनीहरू छात्राभन्दा अलग्गै हिँडिरहेका छन्।

यो अफ्गानिस्तानको दुर्गम याका ओलाङ जिल्लाको दृश्य हो। बिहान पौने आठ बजेको छ। रूस्तम स्कूलको प्राङ्गणमा ती छात्र–छात्राको ‘एसेम्ब्ली’ लागेको छ। रूस्तम स्कूल यो क्षेत्रको एक मात्र हाई स्कूल हो। कक्षा एकदेखि १२ सम्म पढाइ हुने यो स्कूलमा छात्राको संख्या ३३० र जम्मा १४६ जना छात्र छन्। एक तिहाइ बालिका मात्रै विद्यालय जाने देशमा यो आफैंमा आश्चर्य हो।

Hardik ivf

प्रधानाध्यापक मोहम्मद सादिक नासिरी सदाझैं विद्यार्थीलाई सम्झाउँदै थिए– विश्वविद्यालयमा भर्ना पाउनु यो वर्ष झनै गाह्रो हुन्छ, त्यसैले पहिलेभन्दा धेरै मेहनत गर्नुपर्छ। उनी ४९ वर्षका भए।

कलेजको सपना देखाउनलाई रूस्तम स्कूल अनौठो स्थानजस्तो लाग्न सक्छ। ढुंगाले छापेको सात वटा कक्षाकोठा छन्। त्यसबाहेक ६ ओटा ठूला टेन्ट पनि छ। बिहान र दिउँसोको दुई ‘सिफ्ट’मा विद्यार्थीलाई पढाउनुपर्छ। विद्यार्थीको चाप त्यति धेरै छ। त्यो पनि चार घण्टा मात्रै।

यहाँ बिजुली छैन। कम्युटर र फोटोकपी मेसिन पनि छैन। अरू त अरू जाडोमा विद्यार्थी र शिक्षकलाई न्यायो राख्ने कुनै साधन पनि छैन। पठनपाठनका धेरैजसो सामग्री शिक्षकले हातैले लेखेर तयार गरेका छन्। एक पटक विदेशी सहायता पनि आएको थियो तर अहिले छैन। एक शिक्षकले विद्यार्थीभन्दा पुस्तक थोरै भएको बताए।
मात्रै ५ प्रतिशत विद्यार्थीका आमाबाबु लेखपढ गर्नसक्ने नासिरी बताउँछन्। अहिकांश गुजाराका लागि खेतीपातीमा निर्भर छन्।

तैपनि सन् २०१७ मा रूस्तम स्कूलका ६० देखि ६५ ‘ग्राजुएट’ले अफ्गानिस्तानको सार्वजनिक विश्वविद्यालयमा भर्ना पाए। उनीहरूको कलेज भर्ना दर ९२ प्रतिशत छ। तीमध्ये दुई तिहाइ त छात्रा थिए। केही वर्षअघि हाई–स्कूलको पढाइ पूरा गरेका ९७ प्रतिशत विद्यार्थी कलेज भर्ना भएका थिए।

रूस्तम स्कूलमा छात्र र छात्रा दुवैलाई एउटै कक्षाकोठामा राखेर पढाइन्छ। अफ्गानिस्तानका अधिकांश स्कूलमा यस्तो हुँदैन। ‘महिला र पुरूष बराबर हुन्,’ प्रधानाध्यापक नासिरी भन्छन्,‘उनीहरू दिमाग र शरिर एउटै हुन्छ।’

उनी भन्छन्,‘हामी बालबालिकालाई उनीहरूबीच कुनै फरक नभएको र कलेज जाँदा पनि सँगै हुने बताउँछौं। त्यसैले एक–अर्कालाई सम्मान गर्न सिकाउँछौं।’

विद्यालयका १२ जना शिक्षकमध्ये पाँच महिला छन्। बदन जोया तीमध्ये एक हुन्। एक दिन भरिभराउ टेन्टभित्र जोया कक्षा चारका विद्यार्थीलाई गणित पढाइरहेकी थिइन्। कालो रंग लगाएको ‘कार्डबोर्ड’को कालोपाटीमा बीजगणितका साधारण सूत्र लेखिएका थिए। जोयालाई उनीहरूको प्रिय विषयको नाम सोधिन्। सबैले एउटै स्वरमा उत्तर दिए – गणित। उत्तर दिने प्रायः सबै छात्रा थिए।

रूस्तम स्कूलमा यो कुनै आश्चर्यको विषय होइन। कलेजको प्रवेश परीक्षामा ४० प्रतिशत प्रश्न गणितबाट आउँछ। यति धेरै प्रश्न अन्य कुनै पनि विषयबाट आउँदैन। त्यसमा छात्राहरू अब्बल छन्।

कक्षा ११ को ‘हेड स्टुडेन्ट’ हुन् १७ वर्षीया शहरबानो हकिमी। परीक्षामा ल्याएको अंकको आधारमा कक्षाको नेतृत्व चयन हुन्छ। उनी कम्प्युटर कक्षाको पनि ‘हेड स्टुडेन्ट’ हुन्। कक्षा ११ का विद्यार्थीलाई भेट्दा उनीहरू पुस्तकबाट ‘विन्डोज अपरेटिङ सिस्टम’ पढिरहेका थिए। ६० मध्ये एक जना विद्यार्थीको घरमा मात्रै कम्प्युटर छ।
‘मलाई संसारमा केही चाहिँदैन। एउटा ल्यापटप भए पुग्छ,’ हकिमीले भनिन्।

तालिबानराजताका अफ्गानिस्तानमा बालिका शिक्षा प्रतिबन्ध थियो। अझ यो बामियान प्रान्तजस्तो दुर्गम क्षेत्रमा त महिला घरभित्रै कैद थिए।

स्थानीयको शिक्षा मोह विशेष गरी बालिकाको सवालमा त्यो कालको प्रतिक्रिया भएको रूस्तम स्कूलका शिक्षक बताउँछन्। कक्षा चारमा गणित विषय पढाउने जोया २८ वर्ष पुगिन्। तालिबानको राज अन्त्य हुँदा उनी ११ वर्षकी थिइन्। त्यतिबेलासम्म उनले पढ्न सुरू पनि गरेकी थिइनन्। उनलाई पढ्न–लेख्न आउँदैन थियो। सिलाईको कक्षा नै उनको स्कूल थियो।

‘मैले शुन्यदेखि सुरू गर्नुपर्‍यो,’ उनले भनिन्,‘हामी उनीहरूलाई तालिबान र तिनले गरेका ज्यादती सुनाउँछौं। उनीहरूले पाएको अवसरको सदुपयोग गर्न प्रोत्साहन गर्छाैं। उनीहरू हाम्रो कुरा पनि सुन्छन्। घरमा आमा र आमाका दिदीबहिनीले पनि सुनाउँछन्।’

रूस्तम वरपरको क्षेत्र अहिले तालिबानमुक्त छ। पहिलेभन्दा हिंसा नगण्य छ। अन्यत्रका परिवार छोरीलाई स्कूल पठाउन मान्दैनन्। अझ दुर्गम क्षेत्रमा टाढा पठाउनु त असम्भवजस्तै छ। रूस्तम स्कूलका छात्रा एकदमै उत्साहित छन्। ‘साँच्चै भन्दा छात्रभन्दा छात्राहरू अब्बल छन्। उनीहरू बढी गम्भीर पनि छन्,’ नासिरीले बताए,‘शिक्षित व्यक्तिलाई दास बनाउन सकिदैंन भनेर यी बालबालिकाले बुझेका छन्।’

इस्लाम अध्ययनबाहेक सबैको ‘हेड स्टुडेन्ट’ छात्रा नै छन्। अमिना ‘झण्डै १८ वर्ष’ पुगिन्। उनी रूस्तम स्कूलकै ‘हेड गर्ल’ हुन्। उनी आफूलाई भाग्यमानी ठान्छिन्। आमाले अक्षर खुट्याउन नसके पनि बुवा शिक्षित छन्। हाई–स्कूलको अध्ययन पूरा गर्ने आठ सहोदरमध्ये उनी पहिलो सन्तान हुनेछिन्। उनी काबुलस्थित मावुड एकेडेमीमा पढ्न चाहन्छिन्। हालैमात्र आत्मघाती बम आक्रमणमा परेर ४० जना विद्यार्थीले ज्यान गुमाएको उनलाई राम्ररी थाहा छ। तर उनी त्यहीँ पढ्न चाहन्छिन्।अमिनाको प्रिय विषय गणित हो। उनी डाक्टर बन्न चाहन्छिन्।

हकिमी पनि डाक्टर बन्न चाहन्छिन्। उनकी आमाको आँखामा समस्या छ। ६५ वर्षका बुवा काम सुन्दैनन्। दुवै निरक्षर हुन्। माटोले लिपेको उनीहरूको घरबाहिर पानीघट्टले एउटा सानो ‘जेनेरेटर’ चलाउँछ। राति–राति पढ्नलाई यसैले धानेको छ। ‘मैले पढेको छैन,’ हकिमीका बुवा गुलाम हुसैनले भने,‘म खेतको श्रमिक हुँ। मेरा सन्तानले मेरोजस्तो जीवन बाँच्नु नपरोस्।’ उनका ११जना सन्तानमध्ये एक छोरा र दुई छोरी कलेज पढिरहेका छन्।

‘मलाई उनीहरूप्रति एकदमै गर्व छ,’ हकिमीकी आमा जिनतले भनिन्। बालकहरू किन थोरै संख्यामा विद्यालय जान्छन् ? उनीहरूको परिवार एउटा उदाहरण हो। नौ वर्षिय छोरा अलि घरमा बसेर आमबाबुलाई सघाउँछन्। १२ वर्षका अर्का छोरा खेतमा काम गर्छन्। ‘अलि पनि स्कूल जान असाध्यै मन गर्छ,’ जिनतले भनिन्,‘अब अर्काे वर्ष होला।’ तर सबै छोरी विद्यालय जान्छन्।

एक दिन नासिरीले १३ वर्षिया फ्रिबालाई ‘एसेम्ब्ली’मा साथीको पछि लुकिरहेको देखे। उनले ‘युनिफर्म’ लगाएकी थिइनन्। अझ भनौं उनको परिवारसँग त्यो ‘युनिफर्म’ किनिदिने क्षमता न थिएन। त्यसैले नासिरीले नजिकैको बजारमा नीलो रंगको सुतीको एक थान कपडा किने र गणितको शिक्षक जोयाले तालिबानकालमा सिकेको सीप प्रयोग गरेर सिलाई दिइन्। नासिरीले लुगा किन्नलाई पैसा सापटी लिएका थिए। उनी महिनाको महिनाको दुई सय अमेरिकी डलरभन्दा थोरै कमाउँछन्।

बितेको ६ वर्षमा रूस्तम स्कूललाई चलाउनेबाहेक नासिरीले चार जना छोरी र दुई छोरा र ४५ वर्षिया पत्नि रोयाको जिम्मेवारी पनि उठाएका छन्। उनले तालिबानराजताका विवाह गरेका हुन्। उनी आफैंले नै पत्निलाई पढ्न र लेख्न पनि सिकाए। ‘हामीले छलफल गरेर उनी स्कूल जानैपर्छ भनेर निधो गर्‍यौं,’ उनले भने,‘आमा शिक्षित भए सन्तानको पनि हित हुन्छ।’

जेठी छोरीले आमाभन्दा चार वर्षअघि हाई–स्कूल सकिन्। यो वर्ष रोयाले पनि हाई–स्कूलको अध्ययन पूरा गरिन्। अर्काे वर्ष उनले कलेजको प्रवेश परीक्षा दिने नासिरीले बताए। उनी भन्छन्,‘उनी ६ जना सन्तान हुर्काइन्। अब आफूलाई हुकाईरहेकी छिन्।’

रूस्तम स्कूलको अर्काेपट्टि सयौं फिटमाथि भेडा चरिरहेका छन्। गोठाला पनि उनीहरूको निगरानीमा खटिएका छन्। तीमध्ये एक जनाले नीलो लुगा लगाएका छन्। हेर्दा स्कूलको ‘युनिफर्म’जस्तै देखिन्छ तर धुलोले पुरै पुरेको छ। उनको नाम निख्बख्त हो। उनी १३ वर्षकी भइन्। पश्तो भाषा पढ्दै थिइन्। साथमा पेन र एउटा कापी पनि थियो। मलाई स्कूल जान मनपर्छ तर घरमा कोही छैनन्। त्यसैले गोठोलो आउनुपर्‍यो। पश्तो अनिवार्य विषय हो। निख्बख्तलाई मनपर्दैन। उनलाई गणित नै मनपर्छ। 

प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, असार १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्