राष्ट्रियसभामा पेस गरिने अध्यादेश ‘पास’ हुन्छन् कि ‘फेल’ ? हेर्नुहोस् अंकगणित
नेपाल समूह विपक्षी गठबन्धनमा दृढ भएर लागेको देखिए पनि पछिल्लो समय एमाले एकताका लागि भइरहेका प्रयासको प्रभाव राष्ट्रिय सभामा पनि पर्न सक्ने देखिन्छ।
काठमाडौं, असार १७ : आज (बिहीबार) अपराह्न ४ बजे राष्ट्रियसभाको बर्खे अधिवेशनको पहिलो बैठक बस्दैछ। उक्त बैठकमा सरकारले १२ वटा अध्यादेश पेस गर्न लागेको छ।
विपक्षी गठबन्धनका दलहरूले अध्यादेशको विरोधमा सूचना दर्ता गर्न लागेका छन्। ती अध्यादेश पास या फेल के हुने भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। यतिखेर राष्ट्रिय सभाको अंकगणितबारे चासो बढिरहेको छ।
राष्ट्रिय सभामा ५९ सांसद छन्। तीमध्ये नेकपा एमालेका ३२, नेकपा माओवादी केन्द्रका १५, नेपाली कांग्रेसका सात र जनता समाजवादी जसपाका पाँच सांसद छन्। अध्यादेश पास गर्न ३० सांसदको समर्थन जरुरी हुन्छ।
एमालेका ३२ सांसदमध्ये पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीका समूहका २४ जना छन्। बाँकी आठ सांसद वरिष्ठ नेता माधव नेपाल पक्षका हुन्।
राष्ट्रियसभामा पेस हुने अध्यादेश पास हुने कि फेल हुने भन्ने कुरा नेपाल समूहमा भर पर्ने देखिन्छ। एमाले एकढिक्का रहे एमाले पनि बहुमतमा रहेको स्थिति छ तर नेपाल समूहले विपक्षी गठबन्धनलाई साथ दिनेबित्तिकै सरकारले ल्याएको अध्यादेश फेल हुने माओवादी केन्द्रका एक नेताले बताए।
नेपाल समूहले साथ दिएको अवस्थामा कांग्रेस र माओवादी केन्द्र गरी ३० सांसद हुन्छन्, जुन अध्यादेश असफल पार्न स्पष्ट बहुमत हुन्छ।
नेपाल समूह विपक्षीतिर ढल्किँदा जसपाका पाँच सांसदले ओली समूहलाई साथ दिए पनि जम्मा २९ सांसद मात्र हुन्छन्, जुन अध्यादेश पास गराउन अपुग संख्या हो। जसपाका सांसद पनि दुई खेमामा बाँडिएको अवस्था छ। सबैले ओली समूहलाई नै साथ दिने भनेर आकलन गर्न सकिन्न।
नेपाल समूह विपक्षी गठबन्धनमा दृढ भएर लागेको देखिए पनि पछिल्लो समय एमाले एकताका लागि भइरहेका प्रयासको प्रभाव राष्ट्रिय सभामा पनि पर्न सक्ने देखिन्छ।











