सञ्चारमन्त्री बाँस्कोटाले भने–आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ दिएको छैन
काठमाडौं, असार १६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा गर्न लागिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्डका लागि सरकारल....

काठमाडौं, असार १६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा गर्न लागिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको बताएका छन्।
सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सव समारोहलाई स्म्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले आइफा अवार्डका लागि एक रुपैयाँ दिने निर्णय नगरेको बताएका हुन्।
‘बाहिर आइफालाई सरकारले एक अर्ब रुपैयाँ दिने निर्णय गर्यो भन्ने हल्ला भइरहेको रहेछ,’ उनले भने,‘मैले मन्त्रिपरिषद बैठकका निर्णयका पाना पाना पल्टाएर हेरेको छु कतै १ अर्ब होइन एक रुपैयाँ दिने भन्ने छैन।’
उनले मन्त्रिपरिषद् बैठकले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने भन्ने निर्णय मात्रै गरेको बताए।
फरक प्रसंगमा मन्त्री बाँस्कोटाले क्लिन फिड जसरी पनि लागू गर्ने दाबी गरे। उनले भने,‘हामी क्लिन फिडका विषयमा स्पष्ट छौं र विदेशी च्यानलहरुमा यो लागू गरेरै छोड्छौं।’











