आज राष्ट्रिय सभाको अधिवेशन शुरू हुँदै

काठमाडौं, असार १७ : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि शुरु हुँदै छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आज अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी छन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गर्नेछ।
बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइनेछ। अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्नेछन्। बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिनेछ।
प्रतिनिधि सभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न। ५९ सदस्यीय राष्ट्रिय सभाको सातौँ अधिवेशन गत पुस १७ गते शुरु भइ २६ गते अन्त्य भएको हो।











