Kathmandu Press

संखुवासभामा सेनाको एमआई-१७ हेलिकप्टरबाट सुरक्षाकर्मी परिचालन

काठमाडौं, असार १६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान भएको संखुवासभाको सिलिचुङ गाउँपालिका–१ सिसुवाख....

संखुवासभामा सेनाको एमआई-१७ हेलिकप्टरबाट सुरक्षाकर्मी परिचालन

काठमाडौं, असार १६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान भएको संखुवासभाको सिलिचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्ला क्षेत्रमा सेनाको हेलिकप्टरबाट थप प्रहरी परिचालन गरिएको छ।

आज बिहान हेयाङ्ला क्षेत्रमा गस्तीमा रहेको प्रहरी देखेपछि विप्लवका कार्यकर्ताले फायर खोलेका थिए। त्यसपछि प्रहरीले पनि फायर खोलेको थियो। दोहोरो गोली हानाहान भएपनि कुनै क्षति नभएको जनाएको छ।

त्यो क्षेत्रमा सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र नेपाल प्रहरीका दुई टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र नेपाल प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गरेका छन्।

आज बिहान नेपाल प्रहरीका नौ जना र सशस्त्र प्रहरीका १० जनाको टोली हेयाङ्ला पुगेको थियो। त्यतिबेला विप्लवका कार्यकर्ताले गोली हानेका थिए। झन्डै २० मिनेट गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।

 

प्रकाशित मिति: १५:३१ बजे, सोमबार, असार १६, २०७६