संसदलाई जीवन्त बनाई लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आवश्यक : सभामुख
काठमाडौं, असार १६ : २०१६ असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिन हो। यही दिनलाई आधार मानेर हरेक वर्ष असार १६ गते संसद...
काठमाडौं, असार १६ : २०१६ असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिन हो। यही दिनलाई आधार मानेर हरेक वर्ष असार १६ गते संसद दिवस मनाउने गरिन्छ। त्यसकारण आज (बुधबार) संसद दिवस हो।
यसै दिवसका अवसरमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको बताएका छन्।
यस दिवसका अवसरमा उनले एक सन्देश जारी गर्दै प्रतिनिधिसभामाथिको पटकपटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यस दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
यस वर्ष संसद दिवस मनाउँदै गर्दा मुलुकले कोरोना महामारी, मौसमजन्य विपत्ती र प्रतिनिधिसभाको दोस्रोपटक विघटनलगायतका कारण चौतर्फी संकट व्यहोरिरहेको उनको सन्देशमा उल्लेख छ।











