कमलपोखरीस्थित नयाँ भवनमा सर्दै लोक सेवा आयोग
काठमाडौं, असार १५ : लोक सेवा आयोगको केन्द्रीय कार्यालय नयाँ भवनमा सर्ने भएको छ । साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा आयोगको कार्यालय सर्ने...
काठमाडौं, असार १५ : लोक सेवा आयोगको केन्द्रीय कार्यालय नयाँ भवनमा सर्ने भएको छ । साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा आयोगको कार्यालय सर्ने भएको हो ।
कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा साउन ३ गतेदेखि स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा निर्धारण गरिसकिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको नयाँ भवन निर्माण गरिएको हो।
२०७२ को गोरखा भूकम्पमा कमलपोखरीको पुरानो भवन भत्किएको थियो।
त्यसपछि २०७४ चैत ५ गते तीन वर्षे निर्माण सम्झौता गरिएको थियो । लकडाउन लगायतका समस्याले तोकिएको अवधिमा काम नसकिएको भन्दै पुनः ३ महिना म्याद थपिएको थियो । निर्माण सम्झौताको त्यो म्याद यही असार २५ गते सकिंदै छ ।
लोक सेवा आयोगका तत्कालीन अध्यक्ष उमेश प्रसाद मैनालीले गत फागुनमै नयाँ भवन उदघाटन गरेका थिए ।











