कंगोमा नेपाली सेनाद्वारा जीर्ण पुल मर्मत
कंगोमा तैनाथ नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण रहेको पुल मर्मत गरी स्थानीय बासिन्दाका लागि प्रयोगयोग्य बनाएको छ ।
काठमाडौं, असार १५ : कंगोमा तैनाथ नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण रहेको पुल मर्मत गरी स्थानीय बासिन्दाका लागि प्रयोगयोग्य बनाएको छ ।
युनाइटेड नेसन्स अर्गानाइजेसन स्ट्याबिलाइजेसन मिसन इन कंगो (मोनुस्को) मा नम्बर २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले लामो समयदेखि जीर्ण सारी नदीको बुन्दना पुल मर्मत गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको हो ।
मोनुस्को मिसनका डेपुटी स्पेसल रिप्रिजेन्टेटिभ खासिम डियाग्नेले १२ असारमा उक्त पुल उद्घाटन गरेका थिए । त्यस अवसरमा डियाग्नेले नेपाली सेनाको कामको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
सारी क्षेत्रका बासिन्दालाई स्थानीय हतियारधारी समूहहरूले दुःख दिँदै आएका छन् । नदीको पुल जीर्ण हुँदा स्थानीय बासिन्दा मात्र नभई शान्ति सेनालाई पनि आवतजावतमा कठिनाइ हुने गरेको थियो ।
पुल मर्मतपछि स्थानीय व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत स्थानीय बासिन्दालाई सहज भएको छ ।











