सेटिङ छ भनेर ओलीले हार स्वीकारेः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सेटिङ छ भन्दै हार स्वीकार गरेको बताएका छन् ।
काठमाडौं, असार १४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सेटिङ छ भन्दै हार स्वीकार गरेको बताएका छन् ।
नागरिक समाजका अगुवासँग संघीय संसद् भवनमा अन्तक्र्रियाका क्रममा उनले प्रधानमन्त्री ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको आरोप लगाए । ओलीसँग तीन वर्ष संगत गरेर दुःख पाएको उनले बताए ।
प्रधानमन्त्री ओली आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै सहमति गर्न पनि तयार हुने प्रचण्डको भनाइ थियो । ओली विचित्रको मानिस भएको टिप्पणी गर्दै प्रचण्डले भने, ‘ओली बडो विचित्रको मान्छे हो । व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सहमति गर्छन् । जरुरी परे माधवजीको खुट्टा ढोग्न सक्छन्। सबै भयो जे पनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ ।’
प्रतिनिधिसभा पुनःस्थापनाबाट मात्र अहिलेको समस्या समाधान हुने उनले बताए। तर, संसद् पुनःस्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए । सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको आरोप उनले लगाए ।











