चिनियाँ स्याउ भारततर्फ तस्करी प्रकरण : चार प्रहरी दोषी भएको छानबिन समितिको ठहर

सुनसरी, असार १४ : निषेधाज्ञाबीच चिनियाँ स्याउ नेपालको सुनसरीको लौकही नाका हुँदै भारततर्फ तस्करी गरेको प्रकरणमा छानबिन गर्न बनाइएका दुई समितिले चार प्रहरीलाई दोषी देखाएका छन्।
तस्करी गरेर लगिएको तीन ट्रक चिनियाँ स्याउ भारतीय प्रहरीले जेठ ३० गते नियन्त्रणमा लिएको थियो। तस्करीमा प्रहरीकै मिलेमतोको आशंका गरिएको थियो, जसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलगअलग छानबिन समिति बनाएका थिए।
छानबिनका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले त्यहीकै एसएसपी प्रकाश थापाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।
स्याउ तस्करी प्रकरणबारे अनुसन्धान प्रदेश १ प्रहरी कार्यालय विराटनगर बनाएको समितिले प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एसएसपी चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गर्दा तस्करी गराउने कार्यमा संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको हो।
चीनबाट आयात गरिएको स्याउ अवैध रूपमा जेठ २९ गते राति हरिपुर चोकको बाटो हुँदै लौकही नाकाबाटभारतको वीरपुर पुर्याइएपछि त्यहाँ प्रहरीको तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको थियो।
घटनालगत्तै सीमा प्रहरी चौकी भन्टाबारीका तत्कालीन इन्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोसी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरिएको थियो। तीमध्ये कार्की मात्र दोषी भएको निष्कर्ष समितिले निकालेको छ। थापा र चौधरी निर्दोष भएको प्रतिवेदनमा उल्लेख छ।
छानबिन समितिले अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तानलाई पनि दोषी देखाउँदै कारबाहीको लागि सिफारिस गरेको छ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालयले एसएसपी थापाको नेतृत्वमा गठन गरेको छानबिन समितिले भने सशस्त्र प्रहरी बल बिओपी लौकही इन्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ।
स्याउ तस्करीमा उच्च तहका प्रहरीकै मिलेमतोको आशंका गरिए पनि छानबिन प्रतिवेदनमा त्यसबारे केही उल्लेख नगरिएको जनााइएको छ।











